
भारतको राजधानी नयाँ दिल्लीस्थित देशकै सबैभन्दा पुरानो र प्रतिष्ठित समाचार एजेन्सीमध्ये एक ‘युनाइटेड न्युज अफ इन्डिया’ (यूएनआई) को मुख्य कार्यालयमा शुक्रबार प्रहरीले शिलबन्दी गरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली पुलिसले दिल्ली उच्च अदालत (हाई कोर्ट) को आदेश भन्दै रफि मार्गस्थित कार्यालय बन्द गराएको हो। यस घटनाले भारतमा प्रेस स्वतन्त्रतामाथि गम्भीर चिन्ता र प्रश्नहरू खडा गरेको छ।
यूएनआईले सामाजिक सञ्जाल एक्समार्फत कार्यालय शिलबन्दी गरिएको जानकारी दिएको छ।
सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा यूएनआई परिसरभित्र ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएको र पत्रकार तथा कर्मचारीहरूलाई कार्यालय खाली गर्न निर्देशन दिइरहेको देखिन्छ।
भिडियोमा प्रहरीले कर्मचारीहरूलाई जबर्जस्ती कार्यालयबाट बाहिर निकालेको देखिन्छ। धेरैजसो कर्मचारीलाई आफ्नो व्यक्तिगत सामानसमेत लिन दिइएको थिएन।
सार्वजनिक गरिएको भिडियोमा कर्मचारीहरूले आफूहरूमाथि प्रहरीबाट धक्कामुक्की र दुर्व्यवहार भएको आरोपसमेत लगाएका छन्।
‘देशको सबैभन्दा पुरानो र सम्मानित समाचार एजेन्सीको कार्यालयमा भएको यस शिलबन्दीले प्रेसको स्वतन्त्रतालाई लिएर गम्भीर चिन्ताहरू उब्जाएको छ’, यूएनआईले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा लेखेको छ।
मिडियाको विरोध: ‘आजादीमाथिको अभूतपूर्व हमला’
भारतीय अङ्ग्रेजी दैनिक पत्रिका ‘द स्टेट्सम्यान’ले यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको निर्मम प्रहार भनेको छ।
पत्रिकाले एक्समा लेखेको छ, ‘भारतमा मिडियाको स्वतन्त्रतामाथि एउटा अभूतपूर्व अत्याचार र हमलाको रूपमा देशकै सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको रफि मार्गस्थित कार्यालयमा पुलिस बलले साँच्चिकै हमला बोल्यो।’
स्टेट्सम्यानले अगाडि लेखेको छ, ‘कर्मचारीहरूलाई आफ्नो सामान पोको पार्न वा व्यवस्थापनसँग कुरा गर्ने समयसमेत दिइएन।’
यद्यपि, बीबीसीले यूएनआई र द स्टेट्सम्यानले लगाएका यी गम्भीर आरोपहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ। घटनाको विस्तृत विवरण र अदालतको आदेशको पूर्ण पाठ भने सार्वजनिक हुन बाँकी छ।






