
गुर्भाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब १ करोड ६७ लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७ औँ नगरसभा मंगलबार सम्पन्न हुँदै वार्षिक नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।
नगर प्रमुख हस्त पुनले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
उनले समावेशी, दिगो र आत्मनिर्भर नगर बनाउने लक्ष्यसहित उत्पादनमुखी योजना, स्थानीय स्रोत साधनको अधिकतम उपयोग, सेवा प्रवाहमा पारदर्शिता, र सार्वजनिक उत्तरदायित्वलाई नीति कार्यक्रमको मुख्य आधार बनाइएको उल्लेख गरे।
उनको नीति कार्यक्रममा युवा स्वरोजगार अभिवृद्धि, वातावरणीय संरक्षण, सामाजिक समावेशिता र महिला, बालबालिका तथा वृद्धजन लक्षित कार्यक्रमहरू पनि समावेश गरिएका छन्।
नगर प्रमुख पुनको नीति कार्यक्रमपश्चात उपप्रमुख मैना विकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको १ अर्ब १ करोड ६७ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन्।
उनका अनुसार, बजेटमा पुँजीगत खर्चका लागि ३३ करोड १९ लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ, जसमा भौतिक पूर्वाधार निर्माण, खानेपानी, सडक, कृषि प्रवर्द्धन, विद्यालय सुधार, तथा स्वास्थ्य सेवा विस्तारका कार्यक्रमहरू समावेश छन्।
त्यस्तै, चालु खर्चतर्फ ६९ करोड ५८ लाख ७२ हजार रुपैयाँ छुट्याइएको छ, जुन कर्मचारी सेवा सुविधा, सामाजिक सुरक्षा भत्ता, प्रशासनिक खर्च तथा नियमित कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ।
नगरसभामा जनप्रतिनिधि, कर्मचारी, विभिन्न वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटलाई पारदर्शी र प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






