
सुर्खेत, बराहताल — ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सुर्खेतको बराहताल गाउँपालिकाको आयोजनामा भव्यताका साथ सम्पन्न भएको छ। बराहताल गाउँपालिकाभित्र रहेका विभिन्न संघसंस्थाहरूको समन्वयमा आयोजित कार्यक्रममा महिलाको अधिकार, समानता, र सशक्तिकरणका विषयमा चर्चा गरिएको थियो।
बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। 
कार्यक्रममा मन्त्री विजया बुढाले महिलाको सशक्तिकरण र अधिकार स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै, महिला अधिकारको सुनिश्चितता बिना समतामूलक समाज निर्माण सम्भव नभएको उल्लेख गर्नुभयो । उहाँले महिला नेतृत्व र उनीहरूको हकहितको संरक्षणमा सरकारले अघि बढाएका नीति तथा कार्यक्रमहरूबारे जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनले महिलाहरूलाई आफ्नो अधिकारका लागि निरन्तर जागरुक रहन आग्रह गर्दै, महिलाहरूको समृद्धि बिना समग्र समाजको समृद्धि हासिल हुन नसक्ने बताउनु भयो । उहाँले बराहताल गाउँपालिकाले महिलाका हक र अधिकार संरक्षणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
यसै दिवसको अवसरमा शुक्रबार बराहताल गाउँपालिकाले फुटवल प्रतियोगिता लगायत विभिन्न कार्यक्रमहरु राखेको थियो । यस्तै कार्यक्रममा उपस्थित महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारा, कविता, र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। सहभागीहरूले ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ विविध गतिविधिमा सहभागिता जनाए।
अन्तर्राष्ट्रिय महिला दिवसको पृष्ठभूमि
प्रत्येक वर्षको मार्च ८ तारिखमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस महिलाले आफ्ना हक र अधिकारका लागि सुरु गरेको संघर्षको स्मरणमा मनाइन्छ। सन् १९११ मा नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
सन् १९७५ देखि संयुक्त राष्ट्रसंघले औपचारिक रूपमा यो दिवस मनाउन थालेपछि यसले विश्वव्यापी मान्यता पाएको हो। यस वर्ष ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ महिला अधिकारको सुनिश्चितता र महिला सशक्तिकरणमा जोड दिइएको छ।





