रास्वपाद्वारा स्थानीय समितिका चुनावी प्रतिस्पर्धामा भाग नलिन निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीले विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिहरूमा हुने चुनावी प्रतिस्पर्धामा पार्टीको रुपमा प्रतिनिधित्व गरेर सहभागी नहुन निर्देशन दिएको छ ।

रास्वपाद्वारा स्थानीय समितिका चुनावी प्रतिस्पर्धामा भाग नलिन निर्देशन

 

पार्टी प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको नीति विपरीत त्यस प्रकारको क्रियाकलाप कुनै पार्टी सदस्यबाट गरेको वा गराइएको पाइए पार्टीबाट कडा कारबाही गरिने उल्लेख गरेका छन् ।

रास्वपा जनस्तरका सामुदायिक संघ-संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको उल्लेख छ । ‘विद्यालय, खानेपानी, सिंचाइ, बनजस्ता सामुदायिक संस्थाको उपभोक्ता/व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समिति नै किन नहुन्, तिनमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत प्रवृत्ति हो’ विज्ञप्तिमा छ ।

राजनीतिक दलबाट यस्ता संस्थाहरू संक्रमित गर्ने कुसंस्कारको बाछिटा रास्वपामा पार्न खोज्ने तथा केही समययता रास्वपाताई समेत यस्तोमा नियोजित रूपमा मुछ्ने प्रयास भइरहेको उनले उल्लेख गरेका छन् ।

‘रास्वपा राजनीतिक दललाई आफ्नो राजनीतिक सीमामा बाँध्नु पर्छ भन्ने सन्दर्भमा कुनै सम्झौता गर्दैन। यद्यपि रास्वपाका समर्थक व्यक्तिगत रूपमा सहभागी भएका हुन सक्छन् । कुनै पार्टी सदस्य व्यक्तिगत हैसियतमा त्यस्ता गतिविधिमा भाग लिने व्यक्तिगत स्वतन्त्रताको विषय हुन सक्ला । तर, त्यस्तो व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, रास्वपाका समर्थकहरू सामूहिक रूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलहरूसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गर्दछौं’ रास्वपाले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close