सांसद चौधरीको निलम्बन फुकुवा

सांसद् सचिवालयले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवाको पत्र निर्वाचन आयोगमा पठाएको छ। आयोगमा निलम्बन फुकुवाको पत्र पठाउनासाथ चौधरीको नाम मतदाता सूचीमा समाविष्ट गरी अन्तिम नामावली प्रकाशन गरिनेछ।
सांसद चौधरीले निलम्बन फुकुवासँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउनेछन्। २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण बिहीबार मध्याह्न्नसम्म मतदाता सूचीमा नाम समावेश थिएन ।
आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै मतादाता सूचीमा समावेश गरेर अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो।
सांसद चौधरी अदालतको आदेशअनुसार १९ माघमा पक्राउ परेका थिए। उनीमाथि १० वर्षअघिको कैलाली घटनामा ट्रयाक्टरमा आगजनी गरेको कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र ८ लाख १९ हजार बिगो भराउन अदालतले आदेश दिएको थियो।
हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्। महतो निलम्बनमा नपरेकाले उनको नाम पनि मतदाता सूचीमा समावेश छ। राष्ट्रपतिको निर्वाचनका लागि मतदाताका रूपमा रहेका संघीय र प्रदेशसभा सदस्यमाथि कुनै दाबी विरोध उजुरी नपरेको आयोगले जनाएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close