टर्की भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म बढीको मृत्यु भइसकेको छ।
सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौँ बेपत्ता रहेका छन्।
टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ। १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।
दर्जनौँ घाइतेको उद्धार कार्य जारी छ। एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने छ।
सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ।
स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ मै गएको उक्त प्रकोपको अवधिमा अधिकांश मानिस घरभित्रै सुतिरहेकाले मानवीय क्षति बढी भएको अनुमान गरिएको छ।
यति बेला टर्कीकै सुन्दर सहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ। यहाँका बासिन्दाहरू आफ्ना सपनाका घरहरू खरानीमा परिणत भएकोमा अत्यन्त दुःखित छन्।
भूकम्प पीडित घरबारविहीन भएका मानिसहरू खुला आकाशमुनि बसेर आगोको सहारामा घरबाट बाहिर निस्केको भग्नावशेषका फोहोर हेरिरहेका छन्। घरका अतिरिक्त विलासी कारहरू एवं सवारी साधनहरू पनि भूकम्पबाट बच्न सकेनन् र भग्नावशेषमा परिणत भए।
यसैबीच सरकारले राहत उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ। अन्टाक्याको सुन्दर मस्जिद पनि भूकम्पको धक्काबाट बच्न सकेन, भूकम्पले ध्वस्त भयो।
भूकम्प पीडित शहरमा चारैतिर आतङ्क छाएको छ । सडकमा प्रहरी र सेनाले एम्बुलेन्स र उद्धारका अन्य सवारीसाधनलाई बाटो देखाइरहेको दृश्य देख्न सकिन्छ ।
मृतकको सङ्ख्या बढ्दै जाँदा संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले यस हप्ताको सुरुमा दक्षिणी टर्की र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पलाई शताब्दीकै ‘सबैभन्दा नराम्रो घटना’ भनेर उल्लेख गरेका छन्।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close