
कोरोनाको सुरुवाती कालमा एक/दुई दिनको ओरेन्टेसन लिएर फिल्डमा खटिएकी सपनालाई एक वर्षसम्म कोभिडको बारेमा जान्ने, बुझ्ने र काम गर्ने अवसर मिल्यो।
अहिले कोभिड अस्पतालका कुरूवा, आफ्नो नेतृत्वमा काम गर्ने कर्मचारी र कोभिड अस्पतालमा आवश्यक सामग्रीको व्यवस्थापन गर्नु सपनाको मुख्य काम हो। त्योसँगै चिकित्सकहरूसँग समन्वय गर्ने, स्टाफहरू व्यस्त हुँदा बाहिर भएका कोभिडका बिरामीको ज्वरो नाप्नेसम्मका काम गर्छिन् उनी।
कोभिड अस्पतालमा जनशक्तिको अभाव, त्यसैमाथि बेड संख्याभन्दा धेरै बिरामीको चाप हुँदा त्यसको व्यवस्थापनमा कठिनाइ समेत हुने गरेको इञ्चार्ज सपना बताउँछिन्।
सुरुवाती चरणमा २५ शय्याको अस्पतालमा उनकै नेतृत्वमा ११ जना स्वास्थ्यकर्मी थिए भने अहिले थपिएर १७ जना पुगेका छन्। जसमध्ये १४ जना जनस्वास्थ्य कार्यालयबाट र तीन जना प्रदेश अस्पतालको तर्फबाट काम गरिरहेका छन्।
‘कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीले खाना पनि यहीँ खान्छौं। तर काम गर्दागर्दै त खाना खान पनि बिर्सन्छौं,’ सपनाले भनिन्, ‘बिरामीको सेवा गर्दागर्दै कहिलेकाहीँ बिहानको खाना नखाएर सिधैं दिउँसोको खाजा खाएर पनि दिन कटाएका छौं।’
आफ्नै आँखा अगाडि दैनिक आठ/नौ जनाको मृत्यु भएको देख्दा सपनाको मन आत्तिन्छ। तर पनि आफ्नो कामप्रति निरन्तर लगनशील भएर लागिरहेकी छिन् उनी।
‘आफ्नै आँखा अगाडि भित्र बेडमा बिरामी छटपटाएर मर्न लागेको हुन्छ त्यो बेला उसलाई कसरी बचाउने भन्ने चिन्ता हुन्छ,’ उनी भन्छिन्, ‘हामीले सकेजति प्रयास गरे पनि बिरामी नबाँच्दा त झनै पीडा हुन्छ।’
सपनालाई दैनिक घरबाट फोन आइरहन्छ। स्वास्थ्य स्थिति कस्तो छ, नसकिने भए काम छोडिदेऊ भन्ने कुरा घरबाट आए पनि यस्तो संकटको अवस्थामा आफूले किन सेवा गर्न छोड्नु भनेर आमाबुबालाई नै केही हुँदैन, सुरक्षित छु भनेर सम्झाउने गरेको उनले बताइन्।
‘सुरुसुरुमा घरबाट धेरै फोन आउन थालेपछि जागिर छोड्दिउँ जस्तो लाग्थ्यो। तर आफैंलाई पेसामा जिम्मेवार बनाउने प्रयास गर्दागर्दै आजभोली मलाई आफ्नोभन्दा पनि बिरामीको चिन्ता लाग्न थालिसक्यो।’
उसो त सपनाकी आमा बाहेक सबै जना स्वास्थ्य क्षेत्रमा काम गर्छन्। उनका बुबा पनि जनस्वास्थ्यमा २५ वर्षभन्दा बढी काम गरी रिटायर्ड भएर वीरेन्द्रनगरमै मेडिकल गरेर बसेका छन्। वीरेन्द्रनगर-४ भैरवस्थान सुर्खेत निवासी सपनाका एक बहिनी र दुई भाइ पनि स्वास्थ्य क्षेत्रमैं काम गर्छन्।
‘सुरूमा त कर्मचारी नहुँदा २४ घण्टा पनि काम गरियो। कर्मचारी थपिँदै गर्दा केही दिनसम्म १२ घण्टासम्म ड्युटी गरियो,’ इञ्चार्ज सपनाले भनिन्, ‘आजभोलि कर्मचारी बढ्दै गएपछि ८ घण्टा काम गर्न थालेका छौं।’
सपना जस्तै कोरोना अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरू दिनरात संक्रमितको उपचारमा खटिएका छन्। दिनहुँ संक्रमित थपिँदै जाँदा उनीहरूलाई थेग्नै मुस्किल परेको छ।
शनिबारसम्म कोरोना अस्पतालमा ७४ जना सक्रिय संक्रमितहरु रहेका छन्।
‘नियुक्ति छैन, जोखिम भत्ता पनि पाएनौं’
२०७६ चैत ६ गते एक वर्षका लागि करारमा काम गर्न थालेका उनीहरुको २०७७ चैत मसान्तमा करार सम्झौता सकिएको छ। अहिले सपना जस्तै १४ जना स्वास्थ्यकर्मीले मौखिक रूपमा नै काम गरिरहेका छन्।
सुरुवाती चरणमा ५६ जना भए पनि बीचमा छोडेर स्थानीय तह तथा निजी क्लिनिकमा गएका छन्। हाल उनीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले कोभिड अस्पतालमा खटाएको हो।
यस्तै राज्यले फ्रन्टलाइनरलाई जोखिम भत्ता दिने व्यवस्था गरे पनि उनीहरुले साउन यता जोखिमभत्ता पनि पाएका छैनन्।
‘सुरूको तीन महिनामात्र हामीले कोभिड भत्ता पाएका हौं, त्यसयता केही पनि व्यवस्था गरिएको छैन। नियुक्ति पनि छैन। मौखिक आश्वासनले मात्रै काम गरिरहेका छौं,’ सपनाले भनिन्, ‘यस्तो महामारीमा काम गरेका हामीलाई सरकारले राहत दिनैपर्छ।’
साभारः उकेरा डटकम (जगतदल जलना विक)