अबको २ हप्ता काेराेना संक्रमण एकदमै बढ्ने देखिन्छ

 

पहिलो कुरा त ‘लकडाउन खुल्यो’ भनेपछि मानिसको भीड अलि बढ्यो। खासमा हामीले त्यसलाई अर्कै तरिकाले भन्नुपर्ने थियो। लकडाउन खुल्यो भनेपछि आम मानिसमा कोरोना नियन्त्रणमा आएछ भन्ने पर्‍याे।

अर्काे हिसाबमा मानिसमा के पनि भयो भने अब कहिलेसम्म डराउने? पहिला १-२ वटा केस आउँदा, सय वटासम्म आउँदा डराएका थिए, पछि हेर्दै जाँदा यो केस आउँदोरहेछ, संक्रमणले असर गर्दाैरहेनछ भन्ने हिसाबले धेरै नेपालीले लिए।

अहिले त मृत्यु पनि हुन थाल्याे। लक्षण भएका संक्रमित पनि टन्नै देखिन थाले। तर पनि मानिसमा पहिला जुन खालको ‘रेस्पोन्स’ थियो नि, त्यो अहिले छैन।

यस्तो बेलामा लकडाउन खुल्यो त्यसपछि विभिन्न ठाउँमा देखियो।

अबको दुई हप्ता संक्रमण एकदमै बढ्ने देखिन्छ। त्यसमा पनि एकदमै पिकमा जाने र अनि मात्रै तल झर्ने देखिन्छ। यो भाइरस संक्रमितमा लक्षण देखिएका बेला बढी सर्ने हो। लक्षण देखिनुभन्दा २-३ अगाडिदेखि संक्रमण भइसकेको हुन्छ, त्यो हामीलाई थाहा हुँदैन। त्यसो भएकाले संक्रमितले कति मानिसलाई भाइरस सारिसकेको होला।

चार सय संक्रमित देखिँदा उनीहरूले ३ जनालाई मात्रै सारेका भए पनि २–३ हजार जनामा त फैलिसकेको होला। तीमध्ये कतिले भाइरस लिएर रोग नदेखाई बस्लान्। अन्य रोग छ भने कोही अलि गम्भीर अवस्थामा देखिएलान्। त्यसैले यो अवस्थालाई राम्रोसँग हेर्न पनि २ हप्ता चाहिन्छ।

अहिले हाम्रोमा भाइरस कडा भएर गएको देखिन्छ। यसमा रिसर्च गरेर पहिला आएको भाइरस, मृत्यु हुने भाइरस र अहिले लक्षण देखिने भाइरस, कोही गम्भीर भएर आईसीईयूमा राखिने मानिसको हेर्न पाए पो त्यसको कुन कुन भागमा कहाँ कहाँ परिवर्तन भएको छ भन्न सकिन्छ। त्यो हामीले गर्न सकेका छैनौं।

तर अहिले काठमाडौंका पछिल्ला केस हेर्दा लक्षणसहितका संक्रमित देखिएका छन्। हिजो (बिहीबार) को पनि ८० संक्रमितमध्ये ३९ जनामा केही न केही लक्षण देखिए। यस आधारमा १५ देखि २० प्रतिशतसम्म संक्रमितमा केही न केही लक्षण देखिएका छन्।

साउनको सुरुवातसम्म सयमा ९९ दशमलव ७ प्रतिशत संक्रमितमा लक्षण थिएनन्। तर अहिले लक्षण भएका संक्रमित देखिएका छन्, छिट्टै मृत्यु पनि बढ्न थालेकाले स्थिति गम्भीर हुँदै गयो।

अहिले कोरोना मुलुकभर फैलिसकेको छ। सबै जिल्लामा संक्रमित भेटिन थालेका छन्। अब फैलन कहीं बाँकी छैन।

तराईमा भारतबाट मानिस आए। जस्तै : जगदम्बा उद्योग वा विराटनगर कोरिडोर, इटहरी जाने बाटामा जुन उद्योग छन्, त्यहाँ काम गर्ने धेरैजसो भारतीय नागरिक रहेछन्। ती कामदार नेपाल आए। वीरगन्जमा कोरोना व्यापक रूपमा फैलिनुको मुख्य कारण तिनै भारतीय कामदार हुन्।

जगदम्बाको प्रमुख व्यक्तिकै मृत्यु कोरोनाका कारण मृत्यु (भारतमा) भएको छ। ती कामदारले उद्योगमा काम गर्न थाले, अनि उनीहरू कहाँ कहाँ गएर बस्थे? उनीहरूबाट अरू व्यक्तिलाई कोरोना सर्‍याे। हुँदै जाँदा अब यो दोस्रो चरणमा पुग्यो। समुदायमा भन्नु भएन। भारतबाट आएकाले अरूलाई भाइरस सारे अनि तराईमा संक्रमण बढ्यो।

काठमाडौंमा के भयो भने लकडाउनका बेला बाहिरिएका मानिस भित्रिन थाले।

यहाँ विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति बाहिरबाट आउने हुन्। कपाल काट्ने, कार्पेन्टर वा पेन्टिङ गर्नेलगायत विभिन्न क्षेत्रमा भारतको सीतामढीलगायतबाट आउँछन्। संक्रमित मानिस काठमाडौंमा सीधै आउँदा अरू मानिसमा कोरोना सरेकाले पछिल्लो दिन संक्रमण बढ्दै गएको हो।

यही बीचमा कति मानिस सीधै काठमाडौं आए। हामीले नागढुंगालगायत नाकामा चेकजाँच गरेर उपत्यका भित्रिनेको स्वाब संकलन त गर्‍यौं तर ती मानिस सीधै घर गए। एक जना त काठमाडौं आएर घरमा सामान छाडेर फेरि वीरगन्ज पुगेछन्।

अहिले तपाईं टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) मा जानुभयो भने हजारभन्दा बढी मानिसको लाइन देख्नुहुन्छ। ठाउँ सानो छ। हरेक व्यक्तिलाई भौतिक दूरी कायम गर्न भनिरहेका छ छौं, तर पालना गराउन सकिएको छैन। यस्तो अवस्था अन्य ठाउँमा कति होला?

अन्य ठाउँमा पनि ल्याब बढाउँदै गइयो। गुणस्तरीय छ कि छैन? त्यो त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालले हेरेको होला। फेरि प्रतिशत हुन्छ नि त, यति आए पोजिटिभ, यति आए नेगेटिभ भन्ने रियल टाइम मोनिटरिङ, त्यो हामीसँग छैन।

केही समय पहिला एउटा बिरामीले टेकु अस्पतालमा परीक्षण गरेर हाम्रो इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आए। उनलाई हामीले अस्पताल बस्ने वातावरण बनायौं। तर, ती बिरामीले मोबाइल अफ गरेर वीर अस्पताल गएर चेक गराएछन्। रिपोर्ट नआउन्जेल उनी अस्पतालवरिपरि घुमे। उनको रिपोर्ट पोजिटिभ आयो। यसले के देखायो भने व्यक्ति आफू पनि संवेदनशील भइदिएनन्।

यत्रो ठूलो काठमाडौं छ। यहाँ दैनिक के के कुरा भइरहेका छन्, कसलाई थाहा हुन्छ र! अन्य मुलुकमा जस्तो म्यापिङ सिस्टम हाम्रोमा छैन। कुन मान्छे, कहाँ गयो, नक्सा ठीक छैन। बस्नुको ठेगान छैन। कति जनाको बस्ने टुंगो छैन। यी सबै कुराले त्यस्ता मानिसबाट रोग सर्‍याे भने हामीलाई समस्या हुन्छ।

भारतको दिल्लीमा चार जनामध्ये एक जनालाई संक्रमण भयो भन्ने छ। त्यस्तै नेपालमा पनि होला कि भन्ने चिन्ता हो। जाँच्ने, बिरामीलाई दायरामा ल्याउने उपचार गराउने भन्दा पनि सबै मानिसले आफ्नो जिम्मेवारी महसुस गर्नुपर्‍याे, नत्र भोलि निकै गाह्रो हुने देखिन्छ।

मृत्युदर हेर्दा इटलीको जस्तै हुने अवस्थाचैं देखिँदैन। कुन भाइरसले मृत्यु धेरै गराउने हो, कुनले गराउने होइन? यो भाइरस कस्तो हो? हाम्रो मानिसको शरीरको क्षमता कतिसम्म छ भन्नेबारे हामीले अध्ययन गर्नुपर्ने हो। त्यतातिर अहिलेसम्म्म लाग्न सकिएको छैन। म आफैं पनि त्यतातिर लाग्न पाएको छैन।

जनस्वास्थ्य प्रयोगशालाले सिक्वेन्सिङ गर्ने भनेको पनि ६ महिना भइसक्यो, काम अगाडि बढ्न सकेको छैन। त्यही भएर हामीकहाँ फैलिएको भाइरस कस्तो भन्ने थाहा हुन सकेको छैन।

संसारमा ७० हजार भाइरसको जिन सिक्वेसिङ गरी विश्लेषण भइसक्यो, अहिलेसम्म। तर पनि कोरोनाको परिवर्तन हुने दर त्यति मात्रै होइन भन्ने निष्कर्ष निस्किएको छ। यसले स्वरूप परिवर्तन गर्दा यो कहिले कमजोर भएर जान्छ, कहिले कडा भएर जान्छ।

नेपालमा समस्या बाहिरबाट आउने मानिसबाटै सुरु भएको हो। लकडाउनका बेला पनि एक/डेढ लाख मानिस आउलान् भनेको, ५ लाख जति नै आए। अनि उनीहरूको व्यवस्थापनमा सरकार लाग्नुपर्‍याे। त्यो बेला सरकारले संक्रमण नभएको देखाउन सीमित संख्यामा परीक्षण गरायो, अनि संक्रमितको ग्राफ तल झर्‍याे। तर त्यो झुटो ग्राफ थियो। रियल ग्राफ आएकै छैन। अहिले ग्राफ बढ्नुको कारण त्यही हो।

अहिलेसम्म भारतमा संक्रमण बढ्दो छ। त्यस हिसाबले हाम्रोमा पनि संक्रमणदर अझै बढ्छ। भारतमा प्रत्येक दिन ६० हजार संक्रमित थपिइरहेका छन्। हामी जोखिममा छौं।

संघीय संरचनामा गएपछि हाम्रोमा काम गर्ने शैली फेरियो। तीनै तहका सरकार बनेपछि काम गर्ने सवालमा अलि व्यवस्थापन गर्न सकिएन। पहिला स्वास्थ्य विभाग थियो। सबै जिल्लामा स्वास्थ्य कार्यालय थिए। त्यसअन्तर्गत हेल्थपोस्ट थिए। अनि तिनका महिला स्वयंसेविका, त्यो भन्दा तल महिला समूह हुन्थे। ऋनि हाम्रा विभिन्न खालका स्वयंसेवक थिए। हामीले काठमाडौंबाट जिल्ला स्वास्थ्य कार्यालयलाई भन्थ्यौं। उनीहरूले रिपोर्ट दिन्थे।

अहिले त तीन खालका सरकार छन्। अब मैले काठमाडौंबाट भनें भने प्रदेशको सामाजिक विकास मन्त्रालय छ, उनीहरूले रिपोर्ट काठमाडौंमा दिनुपर्छ भन्ने जरुरी छैन। स्थानीय सरकार छ, ऊ पनि प्रदेशअन्तर्गत होइन। त्यसैले सबै निकाय बन्दै गरेका बेला झट्ट कोरोना महामारी आयो। त्यसबाट सबैभन्दा पीडित हामी भएका छौं। त्यति मात्र होइन, हाम्रा संस्थालाई पनि सक्रिय रूपमा परिचालन गर्न सकेका छैनौं।

चाइनिजहरूले एकदिनमा हजारौंको परीक्षण गरे। दश दिनमा हजार बेडको अस्पताल बनाए। गाउँगाउँमा विज्ञ डाक्टरसहित परीक्षण टोली पठाए। ती टोलीले संक्रमित मान्छे खोेजे र परीक्षणको दायरामा ल्याउन सफल भए।

तर, हामी स्थानीय तहमै पुगेनौं। मन्त्रालयमा बसेर एप चलाएर मात्रै थाहा हुने हो र? जानुपर्‍याे नि, गाउँगाउँमा। अनि खोजेर जो रोगी छ, उसलाई अस्पताल लैजान भन्दिनपर्‍याे। त्यसपछि बल्ल एप्लिकेसनसहितको रिपोर्ट ल्याउने हो। अहिले त रिपोर्ट भन्दिने मान्छे छैन, यहाँ एप्लिकेसन बनाएर बस्ने कसरी हुन्छ?

हामीले ४ महिनामा धेरै कुरा सिकेका छौं। अस्पताल पनि सबै तयारी गरेका छौं। सुरुमा त तयारी नै थिएन। सबै डराउने मात्र।

काठमाडौंमा सयवटा भेन्टिलेटरसहितको व्यवस्थापन छ। अहिले ३३ वटा ल्याकबाट परीक्षण भइरहेका छन्। चाहिएजति १८-२० हजार परीक्षण एकैपटक गर्न सकिन्छ। अहिले पनि एकपटकमा झण्डै दश हजार परीक्षण भएका छन्, तर अलि सिस्टम नभएको हो। यो भाइरल रोग हो, तर सतर्क हुनुपर्‍याे। अहिले पनि भीडमा जाने, रेस्टुरेन्ट जाने, मनपरी गरिदिने, त्यस्तो गर्नुभएन। चाडपर्व आएको छ, धेरै ग्यादरिङ गर्नु भएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close