कोपिला माविको सामाजिक लेखापरीक्षण

वीरेन्द्रनगर नगरपालिका—९ स्थित कोपिला मावि पर्सेनीको सामाजिक लेखापरीक्षण गरिएको छ । शुक्रवार अभिभावकहरुको उपस्थितिमा विद्यालयमै आयोजित कार्यक्रममा सामाजिक लेखापरीक्षण तथा सार्वजनिक सुनुवाई गरिएको हो ।
सो अवसरमा आर्थिक वर्ष २०७९/०८० मा विद्यालयको कूल आय एक करोड १८ लाख ६६ हजार ४१८ रुपियाँ रहेको छ । जसमा तलब भत्ताका लागि ७८ लाख ४३ हजार, पाठ्यपुस्तकका लागि एक लाख ७८ हजार, शैक्षिक सुधारका लागि एक लाख ४८ हजार, आन्तरिक स्रोतबाट तीन लाख २० हजार, विज्ञान प्रयोगशालाका लागि ६ लाख ५० हजार, विपद व्यवस्थापनका लागि एक लाख ९७ हजार, दीवा खाजाका लागि तीन लाख ६ हजार तथा विभिन्न बैंकहरुमा नगद मौज्दात रहेको छ ।
यस्तै खर्चतर्फ शिक्षक तलब वितरणमा ८१ लाख ८७ हजार, पुस्तक खरिदतर्फ एक लाख ८७ हजार, भौतिक विकास तथा निर्माणमा ११ लाख ६४ हजार, विज्ञान प्रयोगशाला सामान खरिदमा ६ लाख ४१ हजारलगायत रहेको छ । विद्यालयका प्रधानाध्यापक दुर्गा शाक्यले सवै अभिभावकहरुले थाहा पाउन् भनेर सामाजिक लेखापरीक्षण गरिएको बताउनुभयो । उहाँले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरणका लागि विभिन्न कामहरु गरिएको र ती सवै अभिभावकहरुलाई जानकारी हुनुपर्ने उल्लेख गर्नुभयो ।
शिशुदेखि कक्षा १० सम्म संचालन हुने विद्यालयमा कूल २८७ जना विद्यार्थीहरु अध्ययनरत छन् । जसमा छात्र १३५ जना र छात्रा १५२ जना छन् । कूल १८ जना शिक्षक रहेको विद्यालयमा महिला शिक्षक मात्रै १० जना छन् । विद्यालय कार्य सम्पादन परीक्षण प्रतिवेदनहरु कार्यान्वयन अभियानको प्रतिवेदन संश्लेषण २०७९ मा सो विद्यालय सुर्खेतका कूल ९२ वटा सामुदायिक विद्यालयमध्ये ६९।९२ अंक प्राप्त गरी ८ औं स्थानमा आएको छ ।

प्रअ शाक्यका अनुसार नगरपालिकाभित्र तेस्रो स्थानमा आफ्नो विद्यालय आउन सफल भएको भन्दै शिक्षक, विद्यार्थी र अभिभावकहरुको सामूहिक प्रयासबाट विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिने बताउनुभयो ।
उहाँले यसवर्ष यसै विद्यालयबाट एसईई उत्तीर्ण गरेकी छात्रा रोजिना रोकायाले कलेज भक्तपुरमा स्टाफ नर्स अध्ययनका लागि नेपालमै प्रथम स्थानमा नाम निकाल्न सफल भएको जानकारी दिनुभयो ।
वडा नं. ९ का वडाध्यक्ष ऋषि गिरीले विद्यालयले आगामी दिनमा थप सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकहरु अझ क्रियाशील हुन सुझाव दिनुभयो । साथै विद्यालयको उन्नतिका लागि वडाबाट सक्ने सहयोग गर्ने उहाँले बताउनुभयो ।
शिक्षक अभिभावक संघका कार्यवाहक अध्यक्ष मीना शाहीको अध्यक्षतामा भएको लेखापरीक्षणमा सहभागी अभिभावकहरुले विद्यालयको शैक्षिक र भौतिक अवस्थामा विगतको तुलनामा अहिले उल्लेख्य सुधार आउन सफल भएको प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close