
काठमाडौं, वैशाख ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक ‘र्यापिड टेस्ट’मा ‘पोजिटिभ’ आएका सबैको ‘पीसीआर’ परीक्षण ‘नेगेटिभ’ आएको जनाएको छ ।
मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो समय केही जिल्लामा र्यापिड परीक्षणमा पोजिटिभ देखिएका ‘केस’हरु पीसीआरमा परीक्षण गर्दा नेगेटिभ आएको जानकारी दिए ।
हालसम्म पीसीआर र र्यापिड गरी १९ हजार ४३२ जनाको परीक्षण गरिएको भन्दै उनले र्यापिड टेस्ट पछिल्लो २४ घन्टामा तीन हजार २६३ जनामा गरिएको जानकारी दिए ।
वीरगन्जको छपकैयामा ४०० व्यक्तिहरुको र्यापिड परीक्षण नेगेटिभ आएको भन्दै उनले हाल ६९ जिल्लामा र्यापिड परीक्षण भइसकेको जानकारी दिए ।
प्रवक्ता डा. देवकोटाले ताप्लेजुङ, सोलुखुम्बु, मनाङ, रुकुम पूर्व, इलाम, खोटाङ र डोल्पा जिल्लामा भने परीक्षण सुरु नभएको बताए ।
यस्तै, हाल २५ ओटा ‘हब’ अस्पताल, ६४ प्रादेशिक, २२ मेडिकल कलेज र १६ ओटा निजी अस्पतालहरुलाई ‘कोभिड क्लिनिक’ खोल्न सूचीकृत गरिएको जानकारी दिए ।
औषधिको अभाव हुन नदिने दाबी
प्रेस बिफ्रिङमा औषधि व्यवस्थापन विभागका महानिर्देशक नारायण ढकालले औषधिको अभाव हुन नदिने दाबी गरे ।
औषधिसम्बन्धी अनुगमन थालेको र १९९ प्रकारका औषधि खरिद प्रक्रिया सुरु भइसकेको जानकारी उनले दिए ।
यस्तै, बजारमा दर्ता नभएका र गुणस्तरहीन औषधीप्रति सचेन हुनसमेत विभागले आग्रह गरेको छ ।