घरमा खाने तरकारी फलाउन जुटेका मिन बहादुरको व्यवसाय नै कृषि बन्यो

सुर्खेत,३० माघ । वीरेन्द्रनगर— १२ का सुर्खेतका मिन बहादुर हमाल २६ वर्षिय युवा हुन् । अध्ययनका हिसाबले पशु चिकित्सक हुन् ।

उनी विद्यालयमा अध्ययन गर्ने बेलादेखि नै कृषिमा रुचि राख्थे । कक्षा दशको परीक्ष दिइसकेपछि आफुलाई घरमा खानका लागि तरकारी लगाएपछि राम्रो उत्पादन भयो । घरमा खानलाई पुगेर पनि छिमेकीलाई समेत दिए । त्यसपछि मिन बहादुरले मनमनै सोचे कृषि गरेरै पनि स्वदेशमा केही गर्न सकिन्छ ।

तत्कालिन एसएलसी परीक्षामा पास भएपछि उनले राष्ट्रिय प्राविधिक शिक्षालयबाट १५ महिने पशुचिकित्सक भेटेनरी जेटिए पढाई सुरु गरे ।
यतिमा मात्र उनको नमुना कृषक बन्ने चाहाना पुरा भएन, त्यसपछि नारायणी कृषि फर्म नै दर्ता गरेर व्यवसायीक रुपमैं कृषिमा होमिए ।

पछिल्लो समयका युवाहरुमा कृषिप्रतिको आर्कषणता घटिरहेका बेला मिन बहादुरले भने रातदिनको मेहनत नै कृषि कर्ममा गरेका छन् ।
खासमा हमालले पढाई खर्चका लागि घरपरिवारको मात्र कति मुख ताक्नु भन्ने सोचका साथ व्यवसाय अगाडी बढाएको बताए ।

‘पढाईसँगै कृषि गरेरै भएपनि आफ्नो खर्चपानी व्यहोर्न सकियोस् भन्ने उद्देश्यले फर्म नै दर्ता गरेर कृषि कर्ममा लागें,’ मिन बहादुरले भने, ‘एसएलसी परीक्षा दिएर खाली भएको बेला अलिकति तरकारी लगाएको थिएँ, रामै्र फल्यो त्यसपछि मैले सम्भावना देखें ।’
घरका परिवाले कृषि व्यवसायबाट सम्भावना छैन नगर भनेर बारम्बार भन्दा पनि नमानेर तरकारी लगाई बेचेर पैसा ल्याएपछि घरपरिवार नै दङ्ग परेको हमाल बताउँछन् ।

उनलाई कृषि गर्दा घरपरिवारले त साथ दिएको थिएन नै तर प्रकृतिले पनि साथ दिएन, बारीमा लसुन लगाएको केहीदिनमा नै असिना पानी परेपछि सबै नष्ट भयो । पछि एका एक लसुन टुसाएर हराभरा भयो । जसबाट हमालले डेढ कुइन्टल लसुन बिक्रि गरे ।

‘स्वदेशमा रोजगारी छैन भनेर बाहिर जाने साथीहरुलाई म सुझाव दिन चाहान्छु, त्यहाँको जति दुःख गरेपछि नेपालमैं पनि राम्रो पैसा कमाउन सकिन्छ,’हमालले भने, ‘आफ्नै मेहनत, आफ्नै कमाई, घरपरिवारसँग बस्यो रमाई ।’
मिन बहादुर बिहानै उठेर आँखा मिच्दै फर्ममा निस्कछन्, बोटबिरुवा र विभिन्न प्रकारका बालीलाई सुम्सुम्याउँदै जल, मलको व्यवस्था गर्छन् ।

उनका कैयौं साथीहरु वैदेशिक रोजगारमा गएका छन्, तर उनी स्वदेशमैं कृषि कर्म मार्फत परिवारसँगै सुख, दुःख साटेर बसेका छन् ।
हमाललाई विदेश जानेको इच्छा त परकै कुरा हो कसैले त्यहाँको कुरा गरेपनि निको मान्दैनन् । उनी भन्छन्, ‘विदेश जानुभन्दा बरु स्वदेशमैं भाँडा माँझेर बााँझो बारी खनेर बस्छु ।’
सात रोपनी जग्गामा कृषि फर्म सञ्चालन गरेका उनले साढे दुई लाखबाट व्यवसाय सुरु गरेका थिए ।

हमालले सबै घरखर्च कटाएर मासिक ७० हजारका दरले वार्षिक आठ लाखसम्म बचाउने गरेको बताए ।
हमालको कृषि फर्ममा विभिन्न जातका बिरुवासँगै सजावटको लागि घर तथा होटेलमा सजाउनका लागि फुलहरु समेत उपलब्ध गराउँदै आएका छन् ।

उनले सिर्जनल फुल, पिटुनिया, पेञ्जी, डेन्थस्, कार्नसन, गजनिया, डालिया, केलेनडुला, जिनियाँ, सालिभिया, लैलाभजुनु, आर्थोडिक्स, जिरानियम जातका सिर्जनल फुलका बिरुवा र घर सजावटका लागि क्रिसमस, साइकोस, चामाडोरा, सिपलेरा, बसरेडा र इनडोरप्लान्टका लागि लक्कि बेम्बो, फेराफिया, चामाडोरा, जनाईडु पापिस्ना बिक्रि गर्दै आएका छन् ।
यस्तै फर्मभित्र फलफुलका बिरुवामा कागती, लिच्ची, आँप, अम्बा, काजु, बदाम, मरिच, स्वकाडो इकानफुड समेत पाउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close