त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका पीडितको आश, सुरक्षित बास !

खुमबहादुर वली

सुर्खेत,१८ माघ । २०७१ साउन २९ गते गएको बाढीले सुर्खेतमा निकै ठुलो जनधनको क्षति भयो ।

बाढी गएको एक वर्षपछि राज्य पुर्नसंरचनामा गयो । २०७२ साल मंसिरमा स्थानीय तहको निर्वाचन भयो । आफै चुनेर पठाएका प्रतिनिधिहरु केही गर्लान् भनेर बाढीपीडितमा आशा पलायो । उनीहरुलाई जग्गा जमिन र घर बनाईदिने नाराका साथ विभिन्न पार्टीबाट निर्वाचनमा उठेका उम्मेदवारहरु अस्थाई शिविरमै गएर भोट मागे ।

भोट हालेको ७ वर्षसम्म पनि आफ्ना दुःख उस्तै भएको भन्दै बाढीपीडितले गुनासो गरेका छन् ।
बाढीपीडितका मत फुत्काउन आफ्नो चुनावी घोषणा पत्रमा झुटा सपना देखाएर विजयी भएका प्रतिनिधिहरु अहिले बेखबर बनेकै कारण ६ वर्षअघि विस्थापित भएका सुर्खेतका १ हजार ४५ परिवार अहिलेसम्म पनि पालबाट घरमा फर्किन पाएका छैनन् ।

‘बाढीले सबै सम्पत्ती बगाएर लियो, हामीसँग रहेको सम्पत्ती भनेकै मतादाता कार्ड थियो, त्यसैको लागि चसनावमा नेताहरुले झुटा आस्वासन दिएर चुनाव जिते,’ वीरेन्द्रनगर–७ महिला विकास प्रशिक्षण केन्द्रमा अस्थाई पालमुनि बस्दै आएकी विमला दमाईले भनिन्, ‘आफ्नो स्वार्थ पुगिसकेपछि अहिले हाम्रा पीडा सुन्नु त परको कुरा हो, नमस्कार गर्दासम्म फर्काउँदैनन् ।’

यो वर्षको जाडोले ठूलै दशा निम्त्याएको महसुस गर्दै उनले भनिन्, ‘यो कष्टकर बासबाट सुरक्षित स्थानको बासको आशामा छौं ।’
‘लकडाउनका कारण आम्दानी नभएको यो समयमा आएको जाडो मौसममा एउटा सिरक पनि किन्न सकिएन,’ विमला भन्छिन्, ‘६ वर्ष भइसक्यो हाम्रो त्रिपालमा जाडोयाममा तातो आएन, वर्षामा पानी रोकिएन ।’

बस्दै आएको त्रिपालले पनि घाम पानी थेग्न नसकेर प्वाल प्वाल परेका छन् । माघको चिसो मौसममा बालबच्चालाई लगाउने न्यानो कपडा छैन, अभावैे अभाव रहेको यो शिविरको दुःखमा पनि सरकारको मन कठोर रहेको उनले गुनासो गरिन् ।

बराहताल गाउँपालिका— २ गिरीघाटमा बस्दै आएकी पार्वती कामीको जीवनमा भेरीको बाढीले बज्रपात भयो । जीवनमा सबैभन्दा ठूलो विपत्ती व्यहोर्नु प¥यो । घर, खेत, आठ वर्षीया नातिनी, ७० वर्षीया सासु आमा र भान्जालाई गुमाइन् । तर आफू भने रातभर किमुको रुखमा चढेर ज्यान जोगाइन् ।

‘आज भोली जो सुकै सरकार आएपनि न हर्ष, न दुःखी, कसैले देलान भन्ने आशा पनि मरिसक्यो,’पार्वतीले भनिन्, ‘यस्तो जाडोमा बच्चाहरुलाई कसरी रोग र भोकबाट जोगाउने भन्ने चिन्ताले बारम्बार पिरोली रहन्छ ।’
२०७१ सालमा आएको बाढीमा परी एकसय ३४ जनाको मृत्यु भएको थियो । जसमध्ये ९६ जना अझै वेपत्ता छन् ।

पञ्चपुरी नगरपालिकाको तिखाकुनामा पालको छाप्रो बनाइ बस्दै आएका सर्जन थापालाई पनि सरकारप्रति विश्वास लाग्न छोडिसकेको छ ।
‘मत माग्ने समय नजिकै आएको भन्ने सुनेको छु, पहिला चुनावमा घर बनाइदिने आश्वासन पुरा नगरेका नेताहरु यो वर्ष कस्तो आशा देखाएर मत माग्ने हुन थाहा छैन,’ उनी भन्छन्, ‘तर यो कठ्यांग्रिने जाडोमा जसरी हाम्रो मन चिसिएको छ, चुनावमा मत माग्न आउने नेतालाई बैशाखको टन्टलापुर घाममा त्यसै चिसो बनाएर पठाउने हो ।’

यसरी अस्थाई त्रिपालमै वर्षा र हिउँद कटाउनेमा वीरेन्द्रनगर नगरपालिकामा तीन सय २२, पञ्चपुरीमा दुई सय १४, बराहताल गाउँपालिकामा दुई सय ५९, चौकनेमा छ, भेरीगंगामा एक सय ९८, गुर्भाकोटमा ३४ र लेकवेशीमा १२ परिवार रहेका छन् ।

यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी भने चालू आर्थिक वर्षमा कोरोनाका कारण बाढी पीडितको व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको कारण प्रक्रिया लम्बिएको बताउँछन् ।

‘हामीले अघिल्लो आर्थिक वर्षमा ६ करोड भन्दा बढी रकम बाढीपीडितको घर निर्माणका लागि पालिकालाई हस्तान्तरण गरिसकेका छौं । पालिकाले अनुगमन गर्ने, भवन निर्माण भए नभएको हेर्ने र भुक्तानी दिने काम गरेका छन् । अधिकांश जग्गा भएकाहरुले घर निर्माण थालेर पहिलो किस्ता वापतको रकम लिइसकेका छन्,’ उनले भने, ‘जग्गा नभएका पीडितहरुका लागि समस्या भएको छ । जग्गाको खोजी कार्य सरकारले गरिरहेको छ । त्यो हुने वित्तिकै यो समस्या पनि समाधान हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close