कर्णाली प्रदेश सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दावी पेश गर्ने आज अपरान्ह ५ बजेसम्म

कर्णाली, लुम्बिनी  र सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दावी पेस गर्ने समयसिमा बुधबार सकिँदैछ । सत्ता गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार लुम्बिनी र सुदूरपश्चिममा एमालेबाट मूख्यमन्त्री बन्नेछन् भने कर्णालीको मूख्यमन्त्री माओवादीले पाउने छ ।

कर्णाली प्रदेशको मूख्यमन्त्री भने नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार अपरान्ह ५ बजेभित्र सरकार गठनको दाबी पेश गर्न समय दिनुभएको हो । माओवादीले निर्धारित समयभित्रै मूख्यमन्त्रीको दाबी पेश गर्ने बताए पछि एमाले कर्णालीमा देखिएको असन्तुष्टिका कारण अझै अन्योलको अवस्था छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले)का १०, राप्रपा र नेकपा (एकीकृत समाजवादी) का एक एक सांसद छन् भने एक स्वतन्त्र सांसद छन् ।

लुम्विनीमा एमाले–माओवादी गठबन्धनको तर्फबाट मंगलबार नै सरकार गठनको दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुग्दा बुधबारका लागि सारिएको छ । लुम्बिनीमा एमालेका लिलानाथ गिरी मुख्यमन्त्री बन्ने पक्का देखिएको छ । ८७ सदस्यीय लुम्बिनीमा नेकपा (एमाले) का २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसदले गिरिलाई समर्थन गर्ने देखिएको छ । लुम्बिनीमा एमालेलाई पाँच वर्ष पूरै सरकार चलाउने दिने सहमति गरिएकोमा माओवादीको स्थानीय नेतृत्व भने असन्तुष्ट बनेको छ ।

यस्तै, सुदुरपश्चिममा पनि एमालेकै मूख्यमन्त्री बन्ने पक्का देखिएको छ । एमालेका राजेन्द्र रावलले बुधबार मूख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी गरेको बुझिएको छ । सुदूरपश्चिममा निर्णायक मानिएको नागरिक उन्मुक्ती पार्टीले रावललाई समर्थन गर्ने भएपछि रावल मूख्यमन्त्री बन्ने पक्का भएको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । नेपाली कांग्रेससँग १९ सिट छ भने नेकपा (माओवादी केन्द्र) सँग ११, नेकपा (एमाले) सँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close