मा. वि बडाखोलीमा भक्त-किमसरा स्मृति अक्षयकोष स्थापना

सुर्खेत। गुर्भाकोट ६ स्थित नेपाल राष्ट्रिय मा.वि. बडाखोलीले आफ्नो ४६ औं वार्षिकोत्सव मनाएको छ। शनिवार विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाइएको हो।

वाषिर्कोत्सव समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित सङ्घीय सांसद ध्रुवकुमार शाहीले विद्यालयको नवनिर्मित ८ कोठे प्रविधि मैत्री भवनको उद्‌घाटन गरे।

कार्यक्रममा विद्यालयका तर्फबाट सङ्घीय सांसद शाहीलाई ज्ञापन पत्र समेत बुझाइएको विद्यालयका लेखापाल भिमप्रकाश ओलीले न्यूजपाटीलाई जानकारी दिए। ज्ञापन पत्रमा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न विभिन्न ८ ओटा योजनाका लागि बजेट व्यवस्थापन गरिदिन माग समेत गरिएको छ।

विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको कार्यक्रममा प्रधानाध्यापक ढाल बहादुर खत्रीले आर्थिक वर्ष २०७५/७६ को आयव्यय सहितको शैक्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए। कार्यक्रममा शिक्षकतर्फ राम बहादुर बि.क. अभिभावक तर्फ उदे कामी र चन्द्रा थापाका साथै एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी अनु केसीकी आमा रेश्मा खत्रीलाई सम्मानित गरिएको थियो।

विद्यालयका शिक्षकद्वय कृष्णप्रकाश आरसी र कविता अधिकारीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर नगालले गरेका थिए।

भक्त-किमसरा स्मृति अक्षय कोष स्थापना

यसैबीच मावि बडाखोलीमा भक्त-किमसरा स्मृति अक्षयकोष स्थापना गरिएको छ। गुर्भाकोट-६ का स्थायी बासिन्दा तथा समाजसेवी खिम बहादुर रेग्मीले आफ्ना स्वर्गिय आमाबुवाको सम्झनामा अक्षयकोष स्थापना गरेका हुन्।

उनले यसअघि नै आमा किमसरा रेग्मीको बार्षिक पुण्य तिथिको अवसरमा अक्षयकोष स्थापनाको घोषणा गरेका थिए।

रेग्मीले अक्षयकोष वापतको १ लाख १ हजार १ सय ११ रुपैयाँ बराबरको चेक वाषिर्कोत्सवका अवसरमा शनिवार विद्यालयका प्रधानाध्यापक ढाल बहादुर खत्रीलाई हस्तान्तरण गरे।

यो भिडियो पनि हेर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close