विश्वकै सबैभन्दा ठूलो विमानस्थलसँगै साउदीले बनाउँदैछ यस्तो अनौठो सहर

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले रियाद विमानस्थललाई एभिएसन हबको रुपमा बदल्ने घोषणा गरेका छन्। त्यसपछि यो विमानस्थलबाट वार्षिक १२ करोड यात्रुले यात्रा गर्नेछन्।

साउदी अरेबियाको सरकारी प्रेस एजेन्सी एसपीएका अनुसार सन् २०३० सम्ममा रियाद विमानस्थलको कायापलट हुनेछ। यो काम फत्ते गर्न साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फन्ड अर्थात पीआईएफलाई जिम्मेवारी दिइएको छ।

यो विमानस्थल बनाउन कति लागत लाग्नेछ भन्ने जानकारी दिइएको छैन। विमानस्थल ५७ वर्गकिलोमिटर अर्थात् ५७०० हेक्टर क्षेत्रफलमा बन्नेछ। यो विमानस्थल विश्वकै ठूलो विमानस्थल बन्नेछ। अहिले चलिरहेको किङ खालिद विमानस्थललाई पनि यसमै समावेश गरिनेछ। रियाद विमानस्थलबाट विश्वभरका २५० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान हुने बताइएको छ।

विमानस्थलबाट करिब एक लाख तीन हजार व्यक्तिले प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी पाउने दाबी गरिएको छ। सन् २०५० सम्ममा यो विमानस्थलबाट १८.५ करोड यात्रुले यात्रा गर्ने र ३५ लाख टन कार्गो प्रोसेस गर्ने लक्ष्य छ।

साउदी अरेबियाले तेलमा आफ्नो अर्थतन्त्रको निर्भरता कम गर्न भिजन २०३० अन्तर्गत अरबौं डलर लगानी गरिरहेको छ। यो भिजनको सुरुवात राजकुमार मोहम्मदले नै गरेका हुन्। रियादलाई सन् २०३० सम्ममा विश्वको शीर्ष १० ठूलो अर्थव्यवस्था भएको सहरमा समावेश गर्ने योजना साउदीको छ।

साउदी अरब विश्वमा सबैभन्दा बढी कच्चा इन्धन भएको देश हो। यो देशको अर्थतन्त्र ८० प्रतिशत इन्धन व्यापारमा टिकेको छ। तेलमा निर्भर साउदी अरेबियाको अर्थव्यवस्थामा पछिल्लो समय असर परिरहेको छ। रिपोर्टहरुका अनुसार सन् २०४० सम्ममा इन्धनबाट हुने कमाइ घट्नेछ।

त्यसकारण साउदी राजकुमारले आफ्नो देशको अर्थव्यवस्था रिसेप गर्ने तयारी थालेका हुन्। उनी चाहन्छन्- तेलमाथिको निर्भरता क्रमश: कम हुँदै जाओस्। यसका लागि आगामी वर्षहरुमा थुप्रै परिवर्तन हुँदैछन् र यो हुँदैछ भिजन २०३० अन्तर्गत। एक अन्तर्वार्तामा राजकुमारले भनेका छन्- पुरानै बाटोमा हिँड्ने हो भने आगामी दिन हाम्रो देशका लागि कठिन हुनेछन्।

रियाद विमानस्थलसँगै एउटा अनौठो सहर पनि बनिरहेको छ, जसलाई साउदीको भविष्यको सहर भनिएको छ। यो सहरले सहरी रहनसहनको तरिकामा क्रान्ति ल्याउने दाबी गरिएको छ। यो सहर पनि २०३० सम्ममा तयार हुनेछ।

यो सहरलाई लाइन नाम दिइएको छ। १७० किलोमिटर लामो यो सहर मरुभूमिको बीचमा सिधा लाइनमा रहनेछ। यो सहर वातावरणमैत्री इको सिटी हुने दाबी गरिएको छ। यो सहरमा न कार हुनेछन्, न प्रदूषण हुनेछ। यो सहर यति ठूलो हुनेछ कि इजरायल र कुवेत पनि यसको अगाडि सानो हुनेछन्। यति ठूलो सहरको एउटा कुनाबाट अर्को कुनामा पुग्न जम्मा २० मिनेट लाग्ने बताइएको छ। हाइपर स्पिड रेलको माध्यमबाट यो सम्भव हुनेछ। सहरको डिजाइन यसरी गरिएको छ कि यहाँका मानिसलाई आवश्यक पर्ने जुनसुकै चिज ५ मिनेटमा उपलब्ध हुनेछ।

यो एउटा स्वायत्त सहर हुनेछ। यसका आफ्नै नियम-कानुन हुनेछन्। यहाँ साउदीको कानुन लागू हुनेछैन। दाबी त यस्तो पनि गरिएको छ कि यो विश्वकै पहिलो फुड सफिसिएन्ट सहर हुनेछ अर्थात् यहाँ कुनै पनि खानेकुराको कहिल्यै कमी हुनेछैन। यो सहरमा बस्ने मानिसका लागि आवश्यक सबै प्रकारको खानेकुरा यहीँ उत्पादन हुनेछ। बाहिरबाट केही ल्याइने छैन।

एउटा यस्तो देश जहाँ ८० प्रतिशत खानेकुरा अर्को देशबाट आयात गर्नुपर्छ। त्यस्तो देशको यति ठूलो सहरमा खानेकुरा आयात नहुने हो भने वास्तवमै एउटा क्रान्ति हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close