लोकतन्त्रवादी र बामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्छ :केन्द्रीय सदस्य शाही

सुर्खेत, असोज २८ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले लोकतन्त्रवादी र बामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताएका छन् । शाहीले एउटै उद्देश्य बोकेर पाँच दलीय गठबन्धन बनेको बताउँदै उद्देश्य पूरा नहुँदासम्म गठबन्धन रहने बताए ।
‘संघीयता र गणतन्त्रको विरुद्धमा लाग्नेलाई परास्त गर्नका लागि गठबन्धन बनेको हो,’ शुक्रबार पाँच दलीय गठबन्धनले गुर्भाकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य शाहीले भने, ‘संघीयताको कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पाँच दलीय गठबन्धन बनेको हो, यो दीर्घकालसम्म रहन्छ ।’
कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाहीले विकास र समृद्धिका लागि नीतिसँगै नेतृत्व पनि राम्रो हुनुपर्ने बताए । ‘सुर्खेतले देश हाँक्ने नेतृत्व पाएको छ,’ उनले भने, ‘देशलाई सही मार्गमा डो¥याउन, कर्णालीसहित समग्र देशको विकास गर्नका लागि सही नेतृत्वलाई जिताउन आवश्यक छ ।’ उनले गठबन्धन एक परिवार भएकाले सामुहिक भावनाले अघि बढ्नुपर्ने बताए । ‘गठबन्धन भइसकेपछि हामी एक परिवार हौं,’ उनले भने, ‘त्यो परिवारलाई अघि बढाउन, संसारको गतिसँग देशको विकासलाई अघि बढाउन सामुहिक भावनाको खाँचो छ ।’
मुख्यमन्त्री शाहीले संघीयता र गणतन्त्र नमान्नेसँग गठबन्धन गरेर एमालेले आफ्नो असली रुप देखाएको बताए । ‘संघीयता र गणतन्त्रको विरुद्धमा लागेको राप्रपासँग सहकार्य गरेर एमालेले आफ्नो असली हैसियत देखाएको छ,’ उनले भने, ‘जनतालाई यो कुराको स्मरण गराउन आवश्यक छ ।’
गठबन्धनबाट सुर्खेत क्षेत्र नं। १ ‘क’ का उम्मेदवार खड्कबहादुर पोखरेलले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । ‘हामी कुनै पार्टीबाट प्रतिनिधित्व गरेर उम्मेदवारी दिए पनि अहिले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हौं,’ नेपाली कांग्रेसबाट उम्मेदवार पोखरेलले भने, ‘
पोखरेलले सुर्खेतले देशको नेतृत्व लिने अवसर पाउन लागेको बताउँदै त्यसको सदुपयोग गर्नुपर्ने बताए । ‘देशकै धरोहर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ,’ उनले भने, ‘उहाँ नेतृत्वको गठबन्धनलाई जिताएर देशकै नेतृत्व गर्ने अवसरको हामीले सदुपयोग गर्नुपर्छ ।’
नेकपा माओवादी केन्द्रबाट सुर्खेत क्षेत्र नं। १ ‘ख’ का उम्मेदवार कृष्ण जिसीले गठबन्धनको जीत सुनिश्चित रहेको बताए । उनले देशकै नेतृत्व गरिरहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चुनाव लड्न पाउँदा आफूहरुका लागि गौरवको विषय भएको बताए ।
‘सुर्खेतको मात्रै होइन्, समग्र देशको नेतृत्व गर्ने कांग्रेस उपसभापति खड्काको नेतृत्वमा चुनावी मैदानमा होमिन पाउँदा हामीलाई गौरवको अनुभूति भएको छ,’ जिसीले भने, ‘समग्र देशको नेतृत्व गर्ने उम्मेदवारलाई विजयी गराउन यहाँका मतदाता उत्साहका साथ लागिरहेका छन् ।’
जिसीले वडा–गाउँबाट आएका सुझावका आधारमा आफूहरुले संयुक्त प्रतिवद्धतापत्र तयार पार्ने बताए । ‘हाम्रा छुट्टै कुनै प्रतिवद्धता छैनन्, वडा–गाउँबाट आउने सुझावहरुलाई प्रतिवद्धतापत्रमा समेटेर निर्वाचित भइसकेपछि त्यसलाई कार्यान्वयन गर्नेतर्फ हामी लाग्नेछौं ।’
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले गठबन्धनको मर्म अनुसार आफ्ना उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन लगाइएको बताए । ‘हामी गठबन्धनप्रति पूर्ण प्रतिवद्ध छौं,’ उनले भने, ‘गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि हामीले आफ्ना उम्मेदवार फिर्ता लिएका हौं ।’
नेपाली कांग्रेसका नेता चित्रबहादुर रेग्मीले संविधान मिन्चे, लोकतन्त्रको चिरहरण गर्ने, जनप्रतिनिधि संस्थालाई विघठन गर्ने कार्यकाििवरुद्धको लोकतान्त्रिक–बाम गठबन्धन भएका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताए । ‘लोकतन्त्रको रक्षा, संविधानको पालना र देशमा कानुनी शासनको कार्यान्वयनका लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई विजयी गराउनु हामी सबैको दायित्व र कर्तव्य हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close