राष्ट्रपतिको राजीनामा चर्चा

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्व सुरक्षाअधिकारीहरुसँग भेटघाट गरेपछि नेपाली राजनीतिमा तरंग आएको छ । खासगरी पुनर्बिचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक सरकार र सत्तारुढ गठबन्धनले जस्ताको तस्तै अगाडि बढाएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले भेटघाट बढाएकी हुन् । भेटघाटका क्रममा उनले नागयरकता विधेयक प्रमाणिकरण गर्नुअघि राजीनामा दिने मुड बनाएको उनलाई भेटेका अधिकारीहरुले बताएका छन् ।

 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुसँग राष्ट्रपतिले राजीनामा दिने मुड बनाएको आफुले बुझेको भन्दै अब के गर्ने भनेर परामर्श लिएका छन् । यसले पनि राष्ट्रपतिले राजीनामा दिने मुड बनाएको विषयलाई थप पुष्टि गरेको नेताहरु बताउँदछन् ।

 

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता विधेयक २०७५ सालमै संसदमा ल्याएको थियो । तर, वैवाहिक अंगीकृत नागरिकताको विषयमा कुरा नमिल्दा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक २२ महिनासम्म अड्कियो । राज्य व्यवस्था समितिले नेपालमा बिबाह गरेर आउने विदेशी बुहारीले ७ बर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने गरी समितिको प्रतिवेदन बहुमतका आधारमा पारित गरेको थियो ।

 

त्यसबेला फरकमत राखेको कांग्रेसले आफु सरकारमा गएपछि वैवाहिक अंगीकृत नागरिकताको विषयमा विगतमा रहेको अडान अनुसार नै अध्यादेश जारी गर्‍यो । पाँच दलीय गठबन्धनको समर्थनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएर गएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाइदिएकी थिइन् । पुनर्बिचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित भइसकेको छ । राष्ट्रपतिले आफुले पुनर्बिचार गर्न भनी पठाएको १५ बुँदे संदेशमा केही छलफल नभएको भनी उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

 

प्रतिनिधिसभाबाट पुनः पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभाले पनि पारित गरेपछि पुनः प्रतिनिधिसभामा आएर नागरिकता विधेयक सभामुखबाट प्रमाणित हुँदै पुनः राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि पुग्छ । आफुले पुनर्बिचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पुनः भएर आएमा के गर्ने ? भन्ने परामर्शमा समेत राष्ट्रपति भण्डारी रहेको उनी निकट अधिकारीहरु बताउँछन् । यही मेसोमा राष्ट्रपतिको राजीनामाको चर्चा भएको हो ।

राष्ट्रपति भण्डारी पहिलो पटक २०७२ कात्तिक १२ मा निर्वाचित भएकी थिइन् । उनी दोस्रो पटक २०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close