कर्णाली र सुदूरपश्चिम जोडिदै पुल निर्माण अन्तिम चरणमा

सुर्खेतको पञ्चपुरी नगरपालिका ११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । ३३ करोड लागतमा निर्माण भइरहेको पुलको काम अन्तिम चरणमा पुगेपछि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग छोटो दुरीको सडक सञ्जालमा जोडिएको हो ।

साविकको सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले पैदल यात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारी र पारी सडक सञ्चालनमा रहेका छन् । कर्णालीमा पुल नभएका कारण दुई प्रदेशको यातायात सम्बन्ध जोडिन सकेको थिएन ।

कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले कर्णाली चिसापानी सडकबाट पूर्व–पश्चिम राजमार्गको चिसापानीसम्म सडक सञ्जालसँग जोड्ने छ । पुल निर्माणसँगै साविक सुदूरपश्चिमको अछाम, बाजुरा र कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, मुगु, जिल्लाका बासिन्दाले छोटो दुरीको यात्रा गर्न पाउनेछन् ।
कुइनेस्थित कर्णाली नदीमा पुल सञ्चालनपछि सुर्खेतको बड्डिचौरहुँदै कोहलपुर–चिसापानीसम्मको करिब दुई सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा छोटिनेछ । कुइनेस्थित कर्णाली नदीमा अनत–लुम्बिनी जेभीले पुल निर्माणको जिम्मा पाएको थियो । पुलको सुर्खेततर्फको सबै काम सकिएको छ भने कैलालीतर्फको वालको काम बाँकी रहेको पुल सेक्टर कार्यालय दाङका योजना प्रमुख लिला भण्डारीले जानकारी दिनु भयो ।

सम्भवत असार मसान्तदेखि सवारी आवागमनका लागि सञ्चालन गर्ने गृहकार्य भइरहेको छ भण्डारी भन्छन पुलको अन्य सबै काम सकिएको छ, कैलालीतर्फको पर्खालको काम सकिने क्रममा रहेकाले सोहीअनुसार यातायात सञ्चालनमा जुटेका छौँ । पुल निर्माणका लागि २०७२ सालमा ठेक्का सम्झौता भएको थियो ।
सडक विभागले दुई वर्षसम्म डिजाइन स्वीकृत नगरेका कारण पुल निर्माण ढिलो शुरु भएको निर्माण कम्पनीले जनाएको छ । तर योजना प्रमुख भण्डारीका अनुसार नदीका कारण डिजाइन चीनमा बनाउँदा निर्माणमा केही ढिला भएको हो ।

‘कर्णाली नदीको चिसापानीमा बनेको पुल र कुइनेमा निर्माण गरिएको पुलको प्रकृति लगभग उस्तै हो ‘नदीको भू–वनावटका कारण कहिलेकाँही डिजाइन पुनः अध्ययन गर्नुपर्ने भएकाले पनि निर्माणमा केही ढिलाइ भएको भण्डारि बताउछन । पुल निर्माणको काम लगभग सकिन लागेको छ ।’

२०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माण शुरु गरिएको हो । चालू आर्थिक वर्षमै पुल सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई अन्तिम रुप दिन काममा तीव्रता दिइएको छ । चिसापानीदेखि कुइनेसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । उता, सुर्खेततर्फ कुइनेदेखि बाबियाचौर १९ किलोमिटर सडकमा साना सवारीसाधन सञ्चालन भइरहेका छन् ।

सुर्खेतमा पर्ने भेरी नदीमा पक्की पुल निर्माण भएपछि अटोरिक्सालगायत साना सवारीसाधन बाबियाचौर हुँदै कुइनेसम्म जाने गरेका छन् । भेरी नदीमा निर्माण भएको पुल दुई वर्ष पहिलेदेखि नै सञ्चालनमा आएको थियो । पुल निर्माणले सुर्खेतको पश्चिमी क्षेत्रका बासिन्दालाई कैलालीसम्म पुग्न निकै छोटो हुनेछ ।

स्रोत ः गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close