पोखरा वाणिज्य संघ र सुर्खेत उद्योग वाणिज्य संघबीच सहकार्य गर्ने सहमति

रमेश कुमार पाण्डे
सुर्खेत जेष्ठ १८ । पोखरा वाणिज्य संघ र सुर्खेत उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका साझा एजेण्डा सँगै अगाडि बढाउने र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । पोखराले सुर्खेत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा यस्तो सहमति भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले पालिकाहरुमा आएका नयाँ जनप्रतिनिधिहरुले निजी क्षेत्रसँग भएको ज्ञान,सीप र पूँजीलाई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिनु भयो । यसअघि पालिका राजनीतिक दलहरुबाट आएका पालिका प्रमुखहरुले विचार नमिलेकै आधारमा उद्योग वाणिज्य संघको नेतृत्वसँग सहकार्य गर्न नखोजेको तीतो अनुभव सुनाउँदै उहाले निजी क्षेत्रलाई काम गर्ने वातावरण निर्माण पालिकाहरुको समुन्नति पनि सम्भव नभएको समेत बताउनु भयो ।

पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखराको समग्र विकासमा निजी क्षेत्रले पुर्याएको योगदानको स्मरण गर्दै संघ समृद्धिमा सहकार्य गर्न तयार रहेको बताउनु भयो । पछिल्लो समय पोखरामा देखिएका पार्किङ, फोहरमैला व्यवस्थापनलगायतका समस्याहरुको समाधान एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनतर्फ पालिकाको नयाँ नेतृत्वले ध्यान दिनुपर्ने उहाँको धारणा रहेको थियो ।

निजी क्षेत्र सदैव सहकार्यको पक्षमा रहेको उल्लेख गर्दै उहाँले निजी क्षेत्रको मानमर्दन गर्ने प्रवृत्ति भने रोकिनुपर्नेमा जोड दिनु भयो । पोखरा र सुर्खेत भौगोलिक रुपले एकै खालको रहेको र फेवालाई रारासँग जोड्न सके समृद्धि प्राप्त हुने कोइरालाको तर्क रहेको थियो ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले समग्र कर्णालीको विकासको लागि सुुर्खेतले पोखरासँग सहकार्य गर्न खोजेको बताउन भयो । रारा तालको बजारीकरण र सो क्षेत्रमा रहेका जडिबुटीको प्रशोधनतर्फ संघले ध्यान दिएको जानकारी दिँदै उहाँले सुर्खेत र पोखराबीच सहकार्यमा विशेष जोड दिनु भयो ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन तथा महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन रहेको कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष धनबहादुर रावतलगायतले मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close