पढाई छोडेर धर्नामा छन् वादी समूदायका बालबालिका ?

सुर्खेत,१९ फागुन । विगत ९ दिनदेखि धर्नामा बसेका वादी समुदायका बालबालिकाको पढाई अनिश्चित बनेको छ ।
लामो समयसम्म कोरोनाले स्कुलमा जान नपाएका वादी समुदायका बालबालिकाहरु फेरि पढाईबाट बञ्चित भएका छन् ।

कृषि योग्य जमिनको माग गर्दै फागुन १० गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडीको खुला चौरमा आमा बुवासँगै धर्नामा बसेका उनीहरु स्कुल जाने समयमा प्ले कार्ड बोकेर आमा बुवासँगै नारा जुलुसमा उत्रिएका हुन् ।
‘स्कुल जान मन त लाग्छ तर, बुवाआमा सबै यता आएपछि हामी कहाँ बस्ने ?’ दैलेख दुल्लुका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय करन वादीले भने, ‘दिउँसोमा त स्कुलका सर मिस र साथीहरुको याद आउँछ ।’

हरेक वर्ष आफ्नो कक्षामा दोस्रो हुने करनलाई यो वर्ष फेल हुने चिन्ता जागेको छ ।
आफु छिटो स्कुल जान पाए पढाईमा सफलता मिल्ने उनको भनाई छ ।
अहिले जग्गाभन्दा पनि आफ्नो पढाईको धेरै चिन्ता लाग्ने गरेको धर्नामा बसेकी अर्की बालिका करिश्मा वादीले बताइन् ।

किताब र कापी बोकेर विद्यालय जानुपर्ने समयमा आमाबुवासँग धर्नामा बस्ने करन र करिस्मा मात्र छैनन्, उनी जस्तै एक सय भन्दा बढी बालबालिका आमाबुवाको अधिकारको लडाईमा बाध्यता जोडिएको छ ।

वादी संघर्ष समितिका संयोजक हिक्मत वादीकाअनुसार आमा बुवासँगै आन्दोलनमा रहेका एक सय भन्दा बढी बालबालिका पढाईबाट वञ्चित हुनुपरेको छ ।
पढ्ने बेलामा आफ्ना छोराछोरीहरुले आन्दोलनमा आउनुपर्ने बाध्यता रहेका हरि वादीले दुःखेसो पोखे ।
९ दिनदेखि कृषियोग्य जमिनको माग गर्दै आएका कर्णालीका वादी समूदायहरुले आफ्ना मागको सुनुवाई नभएसम्म घर नफर्कने चेतावनी दिएका छन् ।

सदियौंदेखि पछाडि पारिएको वादी समुदाय आफ्ना हक र हितका लागि ज्यानको बलिदानी समेत दिन त्यार रहेको वीरेन्द्रनगर नगर कार्यपालिकाका सदस्य विष्णु वादीले बताए ।
खेला किनारामा माछा मार्ने, बालुवा चाल्ने र मादल, सुल्पा बनाएर गुजारा चलाउँदै आएका वादी समूदाय परम्परागत पेशा लोप भएपछि संकटमा परेका हुन् ।

पारिवारिक संख्याका आधारमा कृषि योग्य जमिनको माग गर्दै आएका उनीहरु अहिले छाना, नाना र खानाको अभावमा धर्ना बसिरहेका छन् । धर्नामा कालिकोट, दैलेख र सुर्खेतका आठ सय बढी बादी समूदायको सहभागिता छ ।

यस्तै मंगलबार दलित गैरसरकारी संस्था महासंघले मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय, वीरेन्द्रनगर नगरपालिका, मुख्यमन्त्री कार्यालय र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग वादी समुदायको वर्तमान स्थिती र निष्कर्षका बारेमा छलफल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close