साझा प्रकाशनमा ५ वर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा

साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले ५ वर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ ।

ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो । साझा प्रकाशनका संञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को असार मसान्त भित्र अध्यक्ष सहितको सञ्चालक समितिको निर्वाचन भईसक्नुपर्ने थियो । व्यवस्थापकिय समस्या राजनीति मिसिएपछि साझा प्रकाशनको साधारणसभा प्रभावित बन्दै आएको थियो ।

साझा प्रकाशनको विनियममा हरेक ३ बर्षमा पदाधिकारी निर्वाचित गर्नुपर्ने व्यवस्था छ । पछिल्लो सहकारी नियमावलि २०७५ अनुसार २०७५ असार मसान्त भित्र साधारणसभा गरिसक्नु पर्ने थियो । पटक पटक सरकार परिर्वतन, राजनीतिक नियुक्तिले अस्तव्यस्त र राजनीति गर्ने अखडा बनेको साझा प्रकाशनले पछिल्लो पटक २०७७ बैशाख २७ गतेका लागि साधारणसभा तोकेको भएपनि कोरोनाका कारण पुनः स्थगित गरिएको थियो ।

साझा प्रकाशनको अध्यक्षका लागि साहित्यकार डाक्टर विजय सुब्बा र पुर्व सञ्चालक जीवनचन्द्र कोइराला प्रतिस्पर्धामा उत्रिएका छन् । साहित्यकार डाक्टर सुब्बा यसअघि पनि साझाको संञ्चालक समिति सदस्यमा रहेर काम गरिसकेका छन् । आफूलाई “सिंगो साझा बचाउ अभियानले” उम्मेदवारी बनाएको र साझा भित्र मौलाएको भ्रष्टाचारको अन्त्य गरि राजनीतिबाट जोगाएर साहित्यकारहरुको साझा संस्था बनाउनका सदस्यहरुले आफुलाई बिजयी बनाउने विश्वास डाक्टर सुब्बाले व्यक्त गरे ।

अर्का अध्यक्षका प्रतिष्पर्धी जीवनचन्द्र कोइरालाले पनि साझा भित्रको व्यवस्थापकिय कमिकमजोरी र भौतिक पुर्वाधारको पुनर्संरचनाका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

कोभिड १९ को जोखिमलाई मध्यनजर गरि साझा प्रकाशनले मंगलबारदेखि शुक्रबार ३ बजे सम्मका लागि कार्यालय परिसरभित्र मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ । निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले स्वास्थ्य सर्तकताका मापदण्ड अपनाएर मतदानको व्यवस्था मिलाईएको जानकारी दिए ।

सदस्यसचिव भट्टराईका अनुसार अन्य ३ जना सञ्चालकहरु निर्विरोध चयय भएका छन् । महिला तर्फ सीता कुमारी ओझा, खुल्ला तर्फ डोरप्रसाद अर्याल र हरिप्रसाद भण्डारी निर्विरोध चयन भएका हुन् । दुई सदस्यीय लेखा सुपरिवेक्षण समितिमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।

अध्यक्षको निर्वाचनको मत परिणाम आगामी २५ गते शनिबार भर्चुअल रुपमा हुने साधारण सभामा जानकारी गराईने पनि निर्वाचन समितिका सदस्य सचिव भट्टराईले जानकारी दिए । सहकारी ऐन २०७४ अनुसार अब निर्वाचित पदाधिकारीको समायावधि ४ वर्षको हुनेछ । साझा प्रकाशनको २०७०÷७१ देखिलेखा परीक्षण हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close