मृत्युपछि ४५ वर्षीया महिलामा कोरोना पुष्टि, वीरगंजमा थपिए २२ नयाँ संक्रमित

एकजना महिलाको मृत्युपछि कोरोना पुष्टि भएको छ। ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

वीरगंजमा एक जना डाक्टर, केही स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल कोभिड प्रयोगशालाको आइतवार राति आएको नतिजा अनुसार ६ महिला सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

पर्सामा अब १ हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल सम्म वीरगंजको विभिन्न अस्पतालमा उपचारको क्रममा २२ जनको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना भारतीय, एक जना वेवारिसेसमेत छन्। गएको २५ दिनमा यहाँ १८ जनाको मृत्यु भएको छ।

हिजो राति थपिएका संक्रमितमा १८ वर्षका युवकदेखि ५० वर्षसम्मका उमेर समूहका महिला र पुरुष छन्।

वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको हो। उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनको आइतवार बिहान गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। श्वासप्रश्वासमा अचानक समस्या देखिएको थियो उनको। कोरोना भाइरस संक्रमण भए नभएको थाहा नहुँदै उनको ज्यान गुमेको थियो गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी गराए।

त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर पनि कोरोना संक्रमणको सिकार भएका छन्। २२ र २३ वर्षका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। बारा घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छिन्। पोखरीया नगरपालिका वडा नं १ का वडा अध्यक्ष बंका राउत कुर्मी पनि संक्रमित भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट संकलन गरिएको २२, २६, २९, ३५ वर्षिय गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ। त्यसैगरी, बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं २३ रामपुरटोकनीमा रहेको म्यागनस फर्माका ३६ र ४० वर्षका पुरुष र ४८ वर्षकी महिला गरी ती जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगंजको छपकैया, विर्ता, श्रीपुर, आदर्श नगर, नगवा लगायतका ठाउँका ११ जनामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close