
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि फेरि १ बजे बस्ने भएको छ ।
आज बसेको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमा पेश गरेको प्रस्तावमा छलफल बाँकी रहेकाले भोली बैठक बस्न लागेको हो ।
दुई प्रस्तावका विषयमा औषचारिक अनौपचारिक छलफल बाँकी रहेकोले बैठकमा औपचारिक रुपमा अगाडी बढाउने र अनौपचारिक रुपमा पनि छलफल अघि बढाउन उपयुक्त हुन्छ भनेर नेताहरुबीचमा छलफल अघि बढाईने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आजको बैठकमा प्रचण्ड ओली दुई अध्यक्षले धारणा राखेको र अन्य सदस्यले केही कुराहरु राखेको उनको भनाई छ ।
उनी थप्छन्, “प्रस्ताव र प्रस्तावसँगै पार्टीको संकटको चुरो कारण र त्यसको समाधान वा निकासका विषयमा केन्द्रित भएर छलफल गर्ने काम बाँकी छ ।”
त्यस्तै बैठक पश्चात साझा प्रस्तावका विषयमा के कुराकानी भयो भनेर पत्रकारको प्रश्नमा उनले भने, “त्यो कुरा बैठकमा छलफल भइसकेपछि नै निस्कने निष्कर्ष हो । अहिले त्यसबारे निष्कर्ष निकाल्ने विषयमा कुरा भइसकेको छैन । पार्टी एकतालाई रक्षा गर्दै पार्टीमा देखा परेका समस्याको कारणको पहिचान गर्दै त्यो दिशातिर गरी छलफल अघि बढाउने हाम्रो प्रयास जारी छ । औपचारिक र अनौपचारिक छलफलले निष्कर्ष दिनेछ ।”
त्यस्तै १८ गतेको स्थायी कमिटी बैठकको समय के हुन्छ ? भन्ने प्रश्नमा उनले पूर्वनिर्धारित अनुसार नै हुने बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तहमा देखिएको विवादका विषय समाधानका लागि छलफल भएको छ । बैठकमा अध्यक्षद्वयको पत्रको विषयमा पनि छलफल भएको थियो । दुवै अध्यक्षको प्रस्तावलाई साझा विषय बनाएर आगामी मङ्सिर १८ गते हुने स्थायी कमिटि बैठकमा लैजाने वा अलग अलग रुपमा लैजाने भन्ने विषय पनि कुराकानी भएको छ ।
बैठकपछि पत्रकारले राखेको राजसंस्थाको पक्षमा भइरहेको प्रदर्शनबारे एक प्रश्नको जवाफ दिँदै पार्टी प्रवक्ता श्रेष्ठले भने, “प्रतिगामी शक्तिले प्रतिगमनको अभ्यास नगरे हुन्छ । लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केहि कमजोरी र गल्ति भएका छन् भने समिक्षा गरेर सुधारेर अघि बढ्छौ तर जनताद्वारा चुनिएको शक्तिको कुनै विकल्प नखोजे हुन्छ ।”
नेकपा विवाद चुलिएका बेला अध्यक्षद्वयले छुट्टै प्रस्ताव यसअघिका सचिवालय बैठकमा प्रस्ताव पेश गरेका थिए ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट राजनीतिक प्रस्तावका बारेमा छलफल गरिएकाले आजको बैठकलाई महत्वपूर्ण मानिएको हेरिएको थियो ।