दरबार हाइस्कूलमा सिटी लाइब्रेरी संचालन हुने

काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी संचालनमा ल्याउने भएको छ। महानगरले नवनिर्मित हाइस्कूलमा पुस्तकालय संचालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ। त्यसका लागि चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको छ।

उक्त पुस्तकालय सबै किसिमका पुस्तकको व्यवस्थापन गरिएको आकर्षक र आधुनिक किसिमको हुने कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले बताए। पुस्तकालयमा सदस्यता लिएका व्यक्तिले जुनसुकै स्थानमा बसेर पनि अध्ययन गर्न सक्ने छन्। योजना अनुरुप नै काम भए आगामी दुई महिनामा पुस्तकालय संचालनमा आउने जनाइएको छ। पुस्तकालय संचालनका लागि वडा नम्बर २७ र विद्यालय व्यवस्थापन समितिसँगको सहकार्यमा काम अघि बढिसकेको छ।

महानगर क्षेत्रमा रहेका ९१ सामुदायिक र ५४१  संस्थागत विद्यालयमा अध्ययनअध्यापन गर्ने सबै शिक्षक र विद्यार्थीका लागि सो पुस्तकालय बढी उपयोगी हुने विश्वास लिइएको छ।

कोरोना कहरका कारण भौतिक रुपमा पठनपाठन गर्न गराउन नसकिएको अहिलेका समयमा अत्याधुनिक पुस्तकालयबाट ठूलो सहयोग पुग्ने कामपा –२७ का सदस्य परिवेशमान बज्राचार्यले बताए।

सदस्यता लिएको व्यक्तिलाई पुस्तकालय व्यवस्थापनले पासवर्ड दिने र इन्टरनेटमार्फत जहाँसुकैबाट सुविधा लिन सकिनेछ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close