इलामको पानी झापा झारेर बोतलमा !

झापा । प्रशोधित पिउने पानीको अधिकांस उद्योग तराईका जिल्लामा छन् । उद्योग स्थापना गर्ने स्थानमानै बोरिङ गरी पानी निकाल्न सकिने भएकाले तराईका जिल्लामा पानी प्रशोधन उद्योग स्थापना गर्न पनि सहज छ ।

तराइको पानीमा आर्सेनिकको मात्रा बढी हुने र प्रशोधन गरेको पानी समेत कम स्वादिलो हुने उपभोक्ताले बताइरहँदा झापामा पहाडको पानी ल्याएर पानी प्रशोधन गर्दै पहिलोपटक बिक्री वितरण सुरु गरिएको छ । पहाडको पनी मिठो हुने र आर्सेनिकको मात्रा पनि कम हुने भएकाले झापाका चार व्यवसायीले संयुक्त लगानी गर्दै इलामको पानी पाइपमार्फत सिधै झापामा ल्याएर प्रशोधन गर्न सुरु गरेका हुन् ।
वुद्धशान्ति गाउँपालिका–७ मा उद्योग स्थापना गरी इलामको रोङ गाउँपालिकास्थित प्युरे झार्नाको पानी ल्याएर प्रशोधन गर्दै बजारमा ल्याइएको सञ्चालक मध्येका एक व्यवसायी मीनप्रकाश मैनालीले बताए । अढाई करोड रुपैयाँ लगानीमा झापाका मैनाली, सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले सुनमाई वाटर प्रालि सञ्चालन गर्दै सुनमाई झरना पानी बजारमा बिक्री गर्न सुरु गरेका हुन् ।

पहाडको पानी स्वादिलो हुने र नयाँ प्रविधिबाट पानीलाई प्रशोधन गरी बजार ल्याइएकाले पहाडको पानी पनि अब उपभोक्ताले झापाका बजारमा सहजै पाउने मीनप्रकाशले बताए । झापावासीलाई मात्र नभई प्रदेश १ का सबै बजारमा पहाडको पानीको स्वाद चखाउने उद्देश्यले सुनमाई झरना पानी बजारमा ल्याइएको उनको भनाइ छ ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ अनुसार सञ्चालनमा आएको उद्योगको दैनिक १२ सय कार्टुन पानी उत्पादन गर्ने क्षमता रहेको जानकारी उनले दिए । उद्योगले हाल एक लिटरको बोतलमा उत्पादन भइरहेको पानी छिट्टै तीन सय मिलिलिटर, आधा लिटर र २० लिटरको जारमा समेत उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दुईवटा गाडीमार्फत् झापाका अधिकांश बजारमा पानी पु¥याइएको उद्योगका बजार व्यवस्थापक हरि मैनालीले जानकारी दिए । बजारमा उपलब्ध पानीमध्ये आफूहरुको उत्पादन गुणस्तरीय भएको उनको दाबी छ ।
प्रशोधित पिउने पानी उत्पादन मापदण्ड अनुसार प्रालिमा अटोम्याटिक फिलिङको व्यवस्था गरेको सञ्चालकहरुको भनाइ छ । उद्योगभन्दा पाँच किलोमिटरमाथि इलामको रोङ गाउँपालिकाबाट पाइप विच्छ्याएर ल्याइएको पानी उद्योगमा प्रशोधन गरेर बजारमा पु¥याइएको मीनप्रकाशले बताए । सो ठाउँको पानी प्रदेश १ कै उत्कृष्ट मानिने भएकाले आफूहरुले त्यो ठाउँ रोजेको उद्योग सञ्चालकहरुको भनाइ छ ।

पानीको उत्पादन लागत प्रति कार्टुन १ सय २५ रुपैयाँ पर्ने उत्पादन मेनेजर भण्डारीले बताए । लागत खर्च घटाएर गुणस्तरीय पानी उपभोक्तामाझ पु¥याउने उद्देश्यले उद्योगले बोतल आफैँ उत्पादन गर्ने गरेको उनले सुनाए । प्रति कार्टुन १ सय ४० रुपैयाँका दरले उद्योगले व्यापारीलाई पानी दिने गरेको व्यवस्थापक हरि मैनालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close