डिउटीको समयमा युवती लिएर होटल जाने डिएसपी निलम्बनमा पर्दै

कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका तत्कालिन इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी निलम्बनमा पर्ने भएका छन् । गत बुधबार उनी कैलालीको बुढीतोलास्थित एक होटलबाट युवतीसँग रंगेहात समातिएका थिए । डिउटीको समयमा माथिल्लो निकायालाई जानकारी नदिई उनी होटलमा गएका थिए ।

उनलाई इप्रकाको इन्चार्जबाट हटाएर कारबाही प्रक्रिया अघि बढाइएको थियो । प्रदेश प्रहरी कार्यालयले उनलाई निलम्बनको लागि सिफारिस गरेको छ । गृह मन्त्रालयले उनलाई निलम्बन गर्नेछ ।

गत मंगलबार राति ९ बजेदेखि सम्पर्कविहीन भएका चौधरीको खोजी गर्दै गर्दा बुधबार बिहान बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका थिए। रातको समयमा दुर्घटना भएपछि उनको खोजी भएको थियो ।

मंगलबार राति ९ बजेर ५५ मिनेटमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना३ख ५९४२ नम्बरको ट्रकले सु.प.प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाइलकमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भीर घाइते भए।

दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट इलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीको खोजी सुरु भयो। उनी सम्पर्कमा आएनन्। गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो र पनि प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आएनन्। इलाका प्रहरी कार्यालयका इञ्चार्ज नै सम्पर्कविहिन भएपछि रातारात कैलाली प्रहरीमा हल्लाखल्ला भयो। त्यसपछि छानबिन गर्दा उनी होटलमा युवती लिएर गएको खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close