कोरोना संक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट मोरङमा पछिल्लो १२ घन्टामा पाँच जनाको मृत्यु भएको छ। तीन जनाको आज बिहान र दुई जनाको गएराति मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय, मोरङका अनुसार चार जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको छ। उनीहरुमध्ये तीन जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो।

नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचारका क्रममा झापा, सुनसरी र मोरङका तीन जनाको मृत्यु भएको हो। झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको हो।

उनलाई ज्वरो, रुघाखोकीसँगै श्वासप्रश्वासमा समस्या रहेको थियो। उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो।

आज बिहान ८ः३० बजे सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि उपचारका क्रममै मृत्यु भएको छ। उनलाई पनि ज्वरोसँगै श्वासप्रश्वासमा समस्या रहेको थियो।

उनलाई कात्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै, मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको दाहालले बताए। उनलाई कोरोना संक्रमण भएपछि कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई पनि ज्वरोसँगै श्वासप्रश्वासमा समस्या रहेको थियो।

गएराति मृत्यु भएकी झापाको दमक–६ की ४६ वर्षीया महिलालाई कात्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो। उनको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान अस्पताल ल्याइएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो। उनको बुधबार राति नै मृत्यु भएको हो।

यस्तै, मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया महिलाको होम आइसोलेसनमा गएराति मृत्यु भएको छ। उनलाई कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

होम आइसोलेसनमा बसेकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लग्न खोजिएको थियो। अस्पताल लग्न नपाउँदै राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close