पूर्व सांसद तथा समाजसेवी शाहलाई सम्मान

काठमाडौं–पूर्व सांसद तथा समाजसेवी राजीव विक्रम शाहलाई सम्मान गरिएको छ । साहलाई वरिष्ठ कलाकार हरिवंश आचार्यले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । विगत लामो समयदेखि समाजिक सेवा क्रियाशील शाहको समाजसेवाप्रति उच्च सम्मान गर्दै मनघरी फाउण्डेसन र दैलेखी सेवा समाजले दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै कलाकार आचार्यले सबैको सोँच समाजसेवी शाहको जस्तै मनकारी भइदिए देशलाई समृद्धितर्फ लाग्न धेरै समय नलाग्ने बताए । ‘यहाँ धेरै मानसिहरु छन् जो आफूसँग प्रशस्त सम्पत्ती भएर पनि समाज सेवामा लाउँदैनन् । तर, शाहजस्ता केही व्यक्तिहरु मात्रै छन्, जसले आफ्नो व्यक्तिगत जीवनभन्दा माथि उठेर समाजका लागि योगदान दिन्छन्,’ उनले भने, ‘यस्ता व्यक्तिहरुलाई गरिएको सम्मानले उहाँहरुको कामको मूल्यांकन हुन्छ र आगामी दिनमा पनि समाजसेवामा तल्लीन् रहने प्रेरणा मिल्छ ।’

२०७२ को महाभूकम्पका बेला नेपालीले एक अर्काप्रति देखाएको सद्भावले नै नेपालीहरु मनकारी छन् भन्ने प्रमाणित गरेको भन्दै आचार्यले यस्ता महाविपत्मा सबै एक जुट भएर समाज माथि उकास्न हातेमालो गर्नुपर्ने बताए । यस्तै, सम्मानपछि सांसद शाहले पनि नेपालमा हरेक कुरामा राजनीतिक नजरले हेर्ने गरिएको भन्दै समाज बदल्न नेपालीहरु एक हुनुपर्ने बताए । ‘नेपालको विकास पार्टी र सरकारका आधारमा भइरहेको छ । जुनसुकै सरकार भए पनि आफू निकटका कार्यकर्ताको मात्रै हेरचाह गर्ने प्रवृति छ, तर यो गलत हो ।

यसले सिंगो समाज माथि उस्कन सक्दैन,’ उनले भने, ‘अब साच्चीकै समाज बदल्ने नै हो भने भाषणमा भन्दा पनि समाजिक जीवनस्तर माथि उकास्न सबैको हातेमालो आवश्यक छ ।’
यस्तै कार्यक्रमा उपस्थित आनी छोइङ डोल्मा फाउण्डेसनकी अध्यक्ष आनी छोइङले पनि सबैको हातेमालो भए मात्रै समाज बदल्न सम्भव भएको बताइन् । ‘हामी एक दुई जनाले एक्लै हिँडेर समाज बदल्न सकिँदैन । यसमा शाहजस्ता मनकारीहरुको आवश्यकता छ । हामीले पनि उहाँहरुजस्तैको साथ पाएरै केही कामहरु गर्ने प्रयास गरिहेका छौं,’ उनले भनिन् ।

सम्मान कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यायले कोरोनाको महामारीमा पनि आफूलाई नभनी समाजका लागि योगदान गर्नेहरुलाई सम्मान गर्दा थप हौसला मिल्ने बताए । ‘यो समाजमा केही मान्छे मात्रै हुन्छन्, जसले आफूलाई नभई समाजका लागि योगदान दिन्छन् । यस्ता समाजसेवीसँग हातेमालो गर्दै अघि बढ्न सकियो भने समूह पनि ठूलो हुन्छ । र ठूलो क्षेत्रलाई सहयोगका लागि समेट्न सकिन्छ ।’

यस्तै ज्योति विकास बैंक लिमिटेडका सिइओ मनोज ज्ञवालीले समाजिक सेवा गर्नका लागि आत्मबल उच्च भएको हुनुपर्ने बताए । कर्णाली अरुभन्दा दुर्गम, पीछडिएको र शिक्षाका हिसाबले पनि पछाडि परेकाले माथिल्लो तहमा पुगेका सबैले कर्णालीलाई माथि उकास्न सहयोग गर्नुपर्ने बताए ।

मनघरी फाउण्डेसनका सल्लाहकार तथा विरअस्पतालका उप निर्देशक डा. रविन खड्काले अन्य क्षेत्रहरुले निकै फड्को मारिसक्दा पनि कर्णाली अझै गरिबीमै रहेको बताए । ‘कर्णालीमा गरिबी, कूसंस्कार जस्ता कुप्रथा हुनु शिक्षाको कमी नै हो । त्यहाँ न राम्रोसँग विकास नै भएका छ । अब हामीजस्ता केही पहुँचमा पुगेकाहरुले नै आफ्नो ठाउँ बदल्नेबेला आएको छ’, उनले भने ।

प्रारम्भ समाजिक संस्थाका कार्यक्रम संयोजक बद्री तिमिल्सिनाले कोरोनाले सबैतिर आक्रान्त बनाएको अवस्थामा सामान्य पीपीईसमेत नभएका क्षेत्रका लागि सबैको सायोगमा केही योगदान दिन सकिएको बताए । उनले आगामी दिनमा पनि यस्ता सहयोगहरु निरन्तर हुने उल्लेख गरे ।
आफ्नो क्षेत्रका नागरिक बिरामी हुँदा व्यक्तिगत खर्चमा हेलिकप्टर नै चार्टर गरी काठमाडौंका अस्पतालमा पुर्याउने त कहिले राहत लिएर गाउँमै पुग्ने शाहको समाजसेवालाई कदर गर्दै सम्मान गरिएको मनघरी फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

शाहले कोरोना सुरु भएपछि पनि कर्णालीका दुर्गम क्षेत्रका लागि सहज होस भनेर कर्णाली प्रदेशलाई एक करोड भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जाजरकोटमा आफ्नै व्यक्तिगत लगानीमा अस्पताल खोलेका साहले दुर्गमका जनताका लागि थुप्रै सहयोग गरेका छन् । उनको सोही समाज सेवाको भावनाको सम्मान र आगामी दिनमा उनको यो सहयोग निरन्तर जारी रहोस भन्ने उद्देश्यका साथ सम्मान गरिएको मनघरी फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए ।
कार्यक्रममा भीआरएफएनका अध्यक्ष विनोद अधिकारी, प्रारम्भ सामाजीक सस्थाकी अध्यक्ष कल्पना क्षेत्री, मुगुका पर्यटन व्यवसायी राजु कार्की दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही लगायतको सहभागीताले आफ्नो धारण राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close