
नेपालमा कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनको कारण पाँच महिनाको अवधिमा ७३ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार चैतदेखि जेठ महिनाभित्र ४३ जना असार र साउनभित्र ३० जनाको मृत्यु भएको खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्। यीमध्ये ४८ जनाको सुत्केरीपछिको रक्तश्रावले मृत्यु भएको छ।
कोरोना महामारीको कारण देशका विभिन्न भागमा भएको लकडाउनले समयमै यातायात नपाउँदा र अस्पतालमा कोरोना संक्रमण हुन्छ भन्ने डरले घरमै प्रसूति हुन खोज्ने र कुनै उपाय नलागेपछि मात्र स्वास्थ्य संस्थामा जाने कारणले ढिलो हुन गई अकालमै ज्यान गएको परिवार कल्याण महाशाखा मातृशिशु शाखाकी प्रमुख डा. पुण्य गौतमले बताइन्।
सर्वेक्षण अनुसार स्वास्थ्य संस्थामा नगई घरमा प्रसूति हुने क्रममा जटिलता आई मृत्यु हने ७ प्रतिशत छन्। ढिला अस्पताल जाँदा बाटोमै मृत्यु हुने ११ प्रतिशत, ढिला गरी अस्पताल पुगेको एक घण्टाभित्र मृत्यु हुने ७ प्रतिशत छन्।
त्यस्तै स्वास्थ्य संस्थामा पुगेको चार घण्टाभित्र मृत्यु हुने ११ प्रतिशत, २४ घण्टाभित्र मृत्यु हुने ३२ प्रतिशत छन्।
७३ मध्ये ६० जना सुत्केरीको समयमा अस्पताल नपुगेको कारण मृत्यु भएको पाइएको महाशाखाले जनाएको छ।