
सुर्खेत,९ माघ । कर्णाली प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरुको सरुवा काजसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले जुम्लाको तिला गाउँपालिकाको वडा संख्या र सिमाना परिवर्तन सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गरी पठाउने, एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ को मस्यौदा तयार गर्न सौद्धान्तिक सहमति प्रदान गर्ने, कालीकोटको नरहरिनाथ गाउँपालिकाको भवन निर्माण गर्न दुई करोड ७५ लाख रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकालाई निकासा दिने, आर्थिक वर्ष २०७८/७९ मा संघीय समपूरक तथा विशेष अनुदानबाट सञ्चालन गर्ने योजना तथा कार्यक्रम स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संशोधित संगठन संरचनाबमोजिम कार्यालय पुनःस्थापना, सञ्चालन र कार्यक्रम व्यवस्थापनका लागि तीन करोड ९५ लाख रुपैयाँ रकमान्तरको लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।