वीरेन्द्रनगर सहित कर्णालीका ४ पालिकामा निषेधाज्ञा

सुर्खेत १, भदौ ।
सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । साउन २९ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि भदौ ५ गतेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । वीरेन्द्रनगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसबाट पर्न सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
यता सुर्खेतकै भेरीगंगा नगरपालिकाले पनि कोरोनाको जोखिम बढेको भन्दै नगरपालिका क्षेत्रभित्र रहेका बजार आजदेखि बन्द गरेको छ । नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आजदेखि भदौ ५ गते राति १२ बजेसम्म बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेशका मुगुको गमगढी र जुम्लाको चन्दनाथमा पनि आजैबाट अत्यावश्यक वाहेकका सेवा वन्द हुने गरी निषेधाज्ञा जारी गरेका छन् । यता रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले भने वुधबारदेखि नै निषेधाज्ञा जारी गरेको छ । कर्णाली प्रदेशका विभिन्न पालिकाहरुले लकडाउन हटेपछि बजारमा हुने अत्यधिक भिडभाड, नजिकिदै गरेका चाडपर्व र समुदायस्तरमा संक्रमण देखिन थालेपछि निषेधाज्ञा जारी गरेका हुन ।
प्रदेशमा कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको छ । पास बनाएर आएका व्यक्तिहरूलाई समेत पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे र कपुरकोट लगायतका सीमा नाकामा कडाइ गरिएको छ ।
कर्णाली प्रदेशमा २ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ९ सय १४ जनाले संक्रमण जितेका छन् । प्रदेशभर हाल १ सय ४७ संक्रिय केश रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close