विश्वको पहिलो कोरोना भ्याक्सिनप्रति कस्को विश्वास कस्को आशंका

रुसले विकास गरी अनुमोदन गरेको विश्वको पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘स्पुतनिक पाचौं’ ले महामारीको मारमा परेको विश्वभर उत्साह र आशा जगाएको छ । तर, यति छिटो रुसले भ्याक्सिनको विकास गरेकोमा युरोपका केही मुलुक र अमेरिकाले आशंका व्यक्त गरेका छन् । उनीहरुले भ्याक्सिनको सुरक्षा र प्रभावकारिताबारे प्रश्न उठाएका छन् । यद्यपि, केही देशले भ्याक्सिनप्रति निकै सकारात्मक धारणा समेत राखेका छन् ।

अमेरिका, जर्मनी, फ्रान्स र स्पेनका वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् । उनीहरुले भ्याक्सिनले कोरोनाको उपचार र रोकथाम गर्ने वचन यति छिटो दिनुलाई खतरनाक भनेका छन् । क्लिनिकल परीक्षणको कार्यप्रणालीबारे खुलस्त नभएको समेत बताएका छन् । तर, रुसी स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले रुसमा विकास भएको कोरोना भ्याक्सिनमाथि आशंका गर्नुलाई आधारहीन भनेका छन् । उनले अब स्वास्थ्यकर्मीमा प्रयोग गरी केही समयभित्रै सर्वसाधारणमा खोपको प्रयोग हुने बताएका छन् ।

केही देशहरुले कोरोना भ्याक्सिन रुपमा विकास भएकोमा सकारात्मक प्रतिक्रिया दिएका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेरटेले भ्याक्सिन सर्वप्रथम आफूमाथि नै प्रयोग गर्न आग्रह गरेका छन् । उनले रुसले विकास गरेको भ्याक्सिन मानवताका लागि उत्तम काम भन्दै आफू यसमाथि परीक्षण गर्ने पहिलो व्यक्ति बन्न तयार भएको बताएका छन् । इजरायलले रुसले विकास गरेको भ्याक्सिन राम्रो उत्पादन भए खरिदका लागि सम्झौता गर्ने बताएको छ ।

यसअघि मङ्गलबार गेमेलिया रिसर्च इन्स्टिच्युटले विकास गरेको भ्याक्सिनबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनुमोदन गरिएको घोषणा गरेका थिए । उनले आफ्नै एक छोरीमाथि समेत भ्याक्सिन परीक्षण गरिएको खुलाएका थिए ।

रुसमा निर्मित भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले अनुमोदनको छाप लगाउन भने बाँकी छ । डब्लुएचओले अघि भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको तथ्यहरुको पुनरावलोकन आवश्यक परेको जनाएको छ । डब्लुएचओले रुसी स्वास्थ्य अधिकारीहरुसँग निकटमा रहेर यसबारे छलफलमा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close