नेकपा विवाद : चार नेताबीच आज पनि बालुवाटारमा छलफल जारी

पार्टीको विवाद समाधानका लागि भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित चार नेताको छलफल आज पनि बालुवाटारमा चलिरहेको छ ।

पार्टीमा देखिएको विवादका सम्बन्धमा निकास दिने सम्बन्धमा दुई ओली र प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच बालुवाटारमा छलफल चलिरहेको हो । बालुवाटार स्रोतका अनुसार आज बिहान ९ बजेपछि छलफल सुरु भएको हो ।

अध्यक्षद्वय सहित यिनै चार नेताको छलफल आइतबार पनि झन्डै तीन घण्टा चलेको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल पश्चात् अर्का अध्यक्ष प्रचण्डले आइतबार बेलुकी निजी निवास खुमलटारमा आफ्ना पक्षधर नेताहरुसँग ब्रिफिङ गरेका थिए । उक्त छलफलमा वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

गत साउन १३ गते स्थायी समिति बैठक स्थगित भएयता दुई अध्यक्षबीच कुनै भेटवार्ता हुन सकेको थिएन । अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेपछि प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएका थिए ।

उक्त बैठकमा वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठसहित २९ जना सदस्य सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close