कर्णाली प्रदेशमा पहिलो संक्रमण

हालसम्म कोरोना संक्रमित नदेखिएको कर्णाली प्रदेशमा सोमबार पहिलोपटक संक्रमण पुष्टि भएको छ । दैलेख, आठबीस नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो ।

भारतको आगरामा कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति आगराबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएका थिए । वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो ।क्वारेन्टाइन अवधि पूरा भएपछि भारतीय पक्षले जबरजस्ती नेपालतिर पठाएपछि ती युवासहित नेपालीहरूलाई स्थानीय तहको समन्वयमा उद्धार गरेर सम्बन्धित पालिका पठाइएको थियो ।

ती व्यक्तिको स्वाबको नमुना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो ।

कर्णाली प्रदेशमै पहिलो परीक्षण पोजेटिभ देखेपछि पुनः परीक्षणको लागि सोमबारै नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि पोजेटिभ देखिएको थियो । क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागी दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सोमबारसम्म कर्णालीमा २ हजार ७ सय ८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
कर्णालीका १० वटै जिल्लामा करिव ७ सय ७ जना क्वारेन्टिनमा रहेका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।

सातै प्रदेशमा कोरोना फैलियो

योसँगै मुलुकका सातै वटा प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा १७१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसपछि प्रदेश २ मा १३३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा ४३ जनामा संक्रमण देखिएको छ भने वाग्मती प्रदेशमा १९ जनामा स‌ंक्रमण पुष्टि भएको छ । त्यसैगरी सुदूरपश्चिममा ५(सबै निको भइसकेका छन्), गण्डकीमा ३ र कर्णालीमा एक जनामा संक्रमण देखिएको छ ।

तराईका सबै जिल्ला प्रभावित

हालसम्म बाँकेमा ९३, पर्सामा ९१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ८, कैलाली, बारा र दाङमा ४/४, चितवन, महोत्तरी, सर्लाही, मोरङ र झापामा ३/३ तथा बागलुङ, भक्तपुर,बर्दिया र धादिङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर, नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, सिन्धुपाल्चोक, धनकुटा, गुल्मी, खोटाङ, दैलेख र सुनसरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close