
सन्तानलाई उचित हेरचाह गर्नु कुनै सजिलो काम होइन। यसका लागि मातापिताले सुरुदेखि नै ध्यान दिनु जरुरी हुन्छ। साथै, छोरीलाई भन्दा छोरालाई हेरचाह गर्न ज्यादा कठिन हुने गरेको समेत अध्ययनहरूले पुष्टि गरेका छन्। छोरालाई तुलनात्मकरूपमा बढी स्नेह र गम्भीर ढङ्गमा सम्झाउनु-बुझाउनु आवश्यक छ।
यदि तपाईं छोराको माता हुनु हुन्छ भने तपाईंको जिम्मेवारी निकै बढी छ। हरेक आमाले छोरालाई थुप्रै महत्वपूर्ण कुरा सिकाउनु पर्ने हुन्छ, जसका कारण ऊ ठूलो भएपछि एक असल नागरिक बनोस्।
नारी सम्मान
अभिभावकले आफ्ना बालबच्चालाई सानैदेखि नारीप्रति सम्मान भाव प्रकट गर्न सिकाउनु पर्छ। घरभित्रका आमा, दिदीबहिनी, काकी, फुपूलगायतलाई सम्मान गर्न लगाउनु पर्छ। घरबाटै बच्चाको चरित्र बन्न सुरु हुन्छ। जुन बच्चाले घरभित्रका नारीलाई सम्मान गर्दैनन्, तिनले बाहिर निस्केर वा ठूलो भएपछि नारी सम्मान नगर्ने सम्भावना रहन्छ।
घरमा काम गर्न राखिएको सहयोगी नै किन नहोस्, ऊप्रति सम्मानभाव राख्न बच्लालाई सिकाउनु पर्छ। घरमा आउने पाहुना वा बाटोमा भेटिने कुनै मानिस, सबैलाई आदर गर्ने आदत बच्चाको बसाउनु पर्छ।
जब बच्चाहरुले ठूलालाई सम्मान गर्छन्, तब तिनले स्नेह पर्याप्त पाउन थाल्छन्। ठूला मानिसलाई हेपेर बोल्ने वा बेवास्ता गर्ने बच्चाले प्रायः अरुको स्नेह नपाउने सम्भावना रहन्छ। विशेष गरी पुरुषमा यस्ता गुण हुनु अत्यावश्यक छ।
केटा पनि रुन सक्छन्
हामी हाम्रा छोरालाई भनिरहेका हुन्छौं- केटा भएर रुनु हुँदैन। केटाले नि रुन्छन्! यस्तो भनेर हामी उनीहरुलाई भित्रैदेखि बलियो बनाउने कोसिस गरिरहेका हुन्छौं। तर भुल्न नहुने कुरो के हो भने, हरेक मानिस आफ्ना पीडा–कष्ट व्यक्त गर्न चाहिरहेको हुन्छ। केटा होस् या केटी सबैको स्वभाव यही हुन्छ।
रुँदा मन हल्का हुन्छ। मनभित्रको पीडा पनि कम भएको महसुस हुन्छ। यसकारण पनि छोरालाई कहिल्यै नभन्नोस्– केटा भएर पनि रुन्छन्?
आफ्नो लागि आफैं अग्रसर
बच्चालाई कतिपय कुरामा हामी अनावश्यक डर देखाइरहेको हुन्छौं। उनीहरु स्वयम्ले गर्न सक्ने निर्णयमा पनि आफू हावी भइरहेका हुन्छौं।
यसले उनीहरुको मनोविज्ञान कमजोर बन्दै जान्छ। उनीहरुको सोच र निर्णयमा मजबुत बनाइदिने काम अभिभावकले गर्नु पर्छ। उनीहरुलाई डर देखाउने होइन, सानैदेखि लड्न, चुनौतीको सामना गर्न र अघि बढ्न तागत दिने जिम्मा मातापिताको हो।
उनीहरुको जिन्दगीमा थुप्रै चुनौती र अप्ठेरा आउने निश्चित छ। जीवनको बाटो सहज कहाँ छ र! त्यसकारण पनि मुस्किलहरुसँग लड्न सिकाउनु पर्छ।
यसको अर्थ बच्चालाई उनीहरुका सबै काम स्वयम् गर्न भनी छाड्ने होइन, तर उनीहरुको बाटो बनाउने जिम्मा भने उनीहरुलाई दिनु पर्छ। जबसम्म उनीहरु आफ्नो बाटो आफैं बनाउन सक्दैनन्, आफ्ना सपना पूरा गर्नेतर्फ लाग्न सक्दैनन्, चुनौतीसँग लड्न सक्दैनन् तबसम्म जिन्दगीमा उनीहरु खुसी रहन सक्दैनन्।
सपना देख्न सिकाउनुस्
आफ्ना बच्चालाई जीवनको लक्ष्य तय गर्न र त्यसलाई प्राप्त गर्न प्रेरित गर्नु होस्। उनीहरुलाई भन्नुस् कि, जीवनमा के जरुरी छ र के अनावश्यक छ। उनीहरुलाई बताइदिनुस्– सपना पूरा गर्न गरिएको प्रयासले मन कति प्रसन्न हुन्छ! बच्चालाई सपनाको पछि लाग्न र त्यसलाई पाउन यथासम्भव प्रयास गर्न सिकाउनुस् र त्यसका लागि ‘मोटिभेट’ गर्नुस्।
महिला–पुरुष बराबरी
समाजमा असल वातावरण तयार गर्न पनि महिला–पुरुष समान हुन् भन्ने भावना जरुरी छ। केटा हुन् या केटी दुवैले आफूहरुलाई समान सम्झुन्। उनीहरुलाई सानैदेखि हरेक क्षेत्र र काममा महिला–पुरुषको समान महत्व हुन्छ भन्ने सिकाउनु पर्छ।
घरमा मातापिताबीचको सम्बन्ध सुमधुर देखाउन र आआफ्नो जिम्मेवारी पूरा गर्न कसरी अघि बढ्छन् भन्ने उदाहरण देखाउन सक्नु पर्छ। पतिले जहिले पनि आफ्नी पत्नीको भूमिकाको उच्च कदर गर्न सक्दा बच्चाहरुले सहजै त्यही संस्कार सिक्छन्।
(एजेन्सीहरुको सहयोगमा)