
काठमाडौं, २७ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् युवा नेता विष्णु रिजालले डा.शिवमाया तुम्बाहाङफेले उपसभामुख पदबाट आइतबार राजीनामा दिने बताएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेकपाका केन्द्रीय सदस्य रिजालले डा.तुम्बाहाङफेलाई पार्टीले उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिने बताए ।
डा.तुम्बाहाङफेले उपसभामुख पदबाट राजीनामा नदिए सांसद पदबाटै हटाउने चेतावनी केन्द्रीय सदस्य रिजालले दिएका छन् ।
‘धेरै हल्ला किन गर्नु ? नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाङफेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहाँले राजीनामा दिनुहुन्छ’, नेकपाका केन्द्रीय सदस्य रिजालले भनेका छन् । ‘किन्तु, परन्तु, भन्ने कुरै भएन । समानपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ, कानूनी रूपमै’, उनले भनेका छन् ।
उपसभामुख पदबाट राजीनामा दिन दिन अस्वीकार गरेकी डा.तुम्बाहाङफेले महाभियोग लगाउन नेकपालाई चेतावनी दिएकी छिन् ।