कोशी टापुको कर्मचारीको मिलेमतोमा बन फडानी

भण्टाबारी/ कोशीटप्पु वन्यजन्तु आरक्षकै कर्मचारीको मिलेमतोमा वन फँडानी हुँदै आएको पाइएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट संरक्षण गर्न खटिएका वार्डेनसहितका उच्चपदस्थ कर्मचारीको मिलेमतोमा वन कटानी र फँडानी हुने गरेको स्थानीयको दाबी छ । सुनसरी, सप्तरी र उदयपुर जिल्लाका ७५ किलोमिटरमा फैलिएको कोशी गाउँपालिका–३ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षको वन फँडानी हुने क्रम बढेको उनीहरूको भनाइ छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षको ९ सय ४५ स्परको उत्तरतर्फ लगाइएको सिसौ, सिमल, खयरलगायतका रुख धमाधम फँडानी भएको कोशीटप्पु वन्यजन्तु पश्चिम कुसाहा चोरी निकासी समितिका सदस्य योगेन्द्र उराँवले बताए । आरक्षका वार्डेन रामदेव चौधरीकै मिलेमतोमा वन फँडानी भएको उनको आरोप छ । उनका अनुसार वार्डेन रामदेव चौधरीसहितका कर्मचारीको मिलेमतोमा ठूलो सङ्ख्यामा खयर र सिसौका रुख काटिएका छन् । स्काभेटर लगाएर सयौंको सङ्ख्यामा रुख र बिरुवा काटिएको दाबी गर्र्दै उराँवले संरक्षणकर्मीकै मिलेमतोमा काठ काटिनु दुःखद् भएको बताए ।

पहिला रुख काट्न वन कार्यालयबाट आदेश लिनुपर्ने भए पनि अहिले आरक्षका वार्डेनकै आदेशमा रुख काट्ने गरिएको उनको दाबी छ । ‘कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले कुनै पनि निकायसँग समन्वय नगरी रुख काटेको पाइयो’ उनले भने, ‘के कति रुख काटियो ? यकिन भएको छैन ।’ काठ तस्करी गराउने उद्देश्यले रुख काटिएको दाबी गर्दै उराँवले सबैको चासोको विषय भएकोले सङ्घर्ष गर्न आफू तयार रहेको बताए । उनले भने, ‘आरक्षका वार्डेनकै आदेशमा रुख र बिरुवा काटिन्छन्, चिराउने र घर ल्याएर बेच्ने गरिएको छ ।’ रामदेव चौधरी वार्डेनका रूपमा आएपछि वन फँडानी शुरु भएको बताइएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले जनताको सम्पत्तिलाई आफ्नो व्यक्तिगत ठानेर फँडानी गरेको माझी मलाहा सञ्जालका अध्यक्ष गुलाबी मुखिया बताउँछन् । उनका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षमा डेढ सयदेखि दुईसय बिघा जग्गामा लगाइएको रुख र बिरुवा फँडानी गरिएको छ । मध्यवर्ती र सिमसार विकासको लागि आएको पैसा दुरुपयोग गरी वार्डेन चौधरीले गरिब र निमुखा ४ सय मलाहाको रोजीरोटी खोसेको उनको आरोप छ । रुख काटेर वन फँडानी र कागजात मिलाएर वार्डेनले भ्रष्टाचार गरेको मुखियाको आरोप छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट फँडानी गरिएका खयर र सिसौको रुख मोटो रकममा विभिन्न समितिमार्फत् तस्करी हुने गरेको बताइएको छ । जसमा वार्डेन, उपभोक्ता समिति, व्यवस्थापन समितिलगायतको संलग्नता रहेको स्रोतको दाबी छ । कोशीटप्पु वन्यजन्तु आरक्षको वन फँडानी भएको बारेमा निष्पक्ष छानबिन गरी सत्य–तथ्य बाहिर ल्याई दोषीलाई कानूनबमोजिम कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

कोशी गाउँपालिका वडानम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरीले कोशीटप्पुबाट वन फँडानी नभएको दाबी गर्दै मादक पदार्थ सेवन गरेर केही व्यक्तिले निराधार आरोप लगाउने काम गरेको बताए । यता कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले बासस्थानको अभावमा लोपोन्मुख अवस्थामा रहेका प्रजातिको संरक्षण गर्ने उद्देश्यले बोटबिरुवा काटिएको प्रतिक्रिया दिएका छन् । ४ सय हेक्टरको बोटबिरुवा काटेर घाँसेमैदान बनाउने योजना रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close