बल्तकारी क्याबिनमा,अपराधी छुट्याउने चलखेल

विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी बलात्कार आरोप लागेपछि अघिल्लो सातादेखि विराट नर्सिङ होममा छन् । बलात्कार आरोप लागेपछि कोखा दुख्यो भन्दै अस्पताल भर्ना भएका गिरीले प्रहरी हिरासतको समय अस्पतालमै गुजारिरहेका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले पनि बलात्कारको आरोप लागेपछि प्रहरी हिरासतको समय अस्पतालमै गुजारेका थिए ।

बलात्कार आरोपी गिरीले अस्पतालको क्याबिनलाई नै हिरासत कक्ष बनाएका छन् । उनलाई प्रहरीले निको भइसक्दा पनि अस्पतालमै बस्न प्रहरीले छुट दिएको छ । बिरामीको बाहनामा अस्पतालको क्याबिनमा बसिरहेका गिरी भक्तजनहरुसँग भेटघाटमा दिनहुँ व्यस्त रहने गरेका छन् ।

चारजना प्रहरीको सुरक्षामा बसेका गिरीले विरामीका कारण प्रहरी हिरासतमा जान नमाने पनि आफ्ना अनुयायी र शुभेच्छुकसँग भने सघन भेटघाट गरिरहेका छन् । उनलाई हिरासतमा राखिएको भनिए पनि भेटघाट र मिटिङका लागि प्रहरीले छुट दिइरहेको छ ।

सोमबार दिनभरजसो गिरीको क्याबिनमा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान सञ्चालक समिति र विराटनगरका केही व्यक्तिको छलफल चल्यो । आइतबार गिरीले स्थानीय पत्रिकाका सम्बादातालाई अन्तरवार्ता पनि दिन भ्याए ।

गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा सोमबारयता प्रहरी हिरासत (अस्पताल) मा छन् ।

गिरीलाई माइनर हर्टअट्याकका कारण केही दिन बिराट नर्सिङ होमको आइसियुमा राखिएको र चार दिनपछि शुक्रबार यता ९ नम्बर क्याबिनमा रहेको अस्पताल प्रशासन बताउँछ । उनलाई मुटुरोग विषेशज्ञ डा. ज्ञानेन्द्र गिरीले जाँच गर्दै आएका छन् ।

अस्पताल स्रोतका अनुसार मंसिर १३ गते अस्पताल भर्ना भएका गिरीलाई १५ गते माइनर हटएट्याक भएको थियो । आइसियूमा बसेका गिरीलाई अस्पतालले सुविधा सम्पन्न डिलक्स क्याबिनमा सारिएको छ । उनले अनुसन्धान अवधी अस्पतालमै कटाउने योजना बनाएको प्रहरी स्रोत बताउँछ ।

अभियुक्त गिरीले अनुसन्धानलाई टार्न खोजिरहेको प्रहरी स्रोत बताउँछन् । ‘बयानका लागि सिद्धबाबाले स्वास्थ्य अवस्थालाई कारण देखाउनुहुन्छ,’ प्रहरी स्रोत भन्छ ‘उहाँले अनुसन्धानलाई सहयोग गरेको देखिँदैन ।’

यसैवीच, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्मा अदालतले अस्पतालमै वयान लिन भनेका कारण अस्पतालमै वयान लिइने बताउँछन् । बलात्कार प्रकरणको अनुसन्धान गरिरहेका डीएसपी शर्मा मंगलबार गिरीको वयानका लागि विराटनगर आएर फर्किएका थिए । गिरीसँग वयान लिइएको शर्माले बताए । प्रहरीका अनुसार घटनाको अनुसन्धान गरिरहेको टोलीले सिद्धबाबाका सहयोगी एवं उनका अनुयायीहरुसँग पनि वयान लिएको छ ।

सिद्धबाबालाई बहिस्कार गर्ने चेतावनी

यसैबीच सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई चतराका महिलाहरुले बहिस्कार गर्ने चेतावनी दिएका छन् । चतराका महिला अगुवाहरुले पत्रकार सम्मेलन गरेर उनलाई बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

बराह महिला सञ्जालका महिलाहरुले सिद्धबाबाले गरेको गलत कार्यलाई ढाकछोप गर्न सरकार नै लागिपरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close