
मानबहादुर वली
सुर्खेतको वीरेन्द्रनगरमा विपद् व्यवस्थापनमा स्वयंसेवकहरूको भूमिका सुदृढ बनाउने उद्देश्यसहित एकदिने नगरपालिका स्तरीय कार्यशाला सम्पन्न भएको छ। वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा NDRRMA द्वारा विकसित स्वयंसेवक व्यवस्थापन प्रणाली (VMS) मा प्रशिक्षित स्वयंसेवकहरूको प्रोफाइल अपलोड तथा आवधिक अद्यावधिक क्षमतावृद्धि” विषयक कार्यशाला सञ्चालन गरिएको हो।
संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) को आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित SUPER-II परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका तालिमप्राप्त स्वयंसेवक र सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटनपछि सहभागीहरूबीच विपद् पूर्वतयारी तथा प्रतिकार्यमा स्वयंसेवकहरूको भूमिकाबारे अनुभव आदानप्रदान गरिएको थियो। त्यसपश्चात् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) द्वारा विकसित स्वयंसेवक व्यवस्थापन प्रणाली (VMS) को संरचना, प्रयोग विधि र यसको महत्वबारे विस्तृत जानकारी दिइएको थियो।
कार्यशालामा सहभागीहरूलाई प्रणालीमार्फत स्वयंसेवकहरूको प्रोफाइल प्रविष्टि, अद्यावधिक तथा डेटा व्यवस्थापनसम्बन्धी व्यवहारिक अभ्यास गराइएको थियो। साथै, वीरेन्द्रनगर नगरपालिकाले तयार पार्दै गरेको स्वयंसेवक मार्गनिर्देशनबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक लामिछाने, विपद् शाखाका यमलाल गिरी, UNDP का कृष्णप्रसाद चापागाईं, मदन आचार्य, यु एन वेमेनका उषा बानियाँ तथा सुन्दर नेपाल संस्थाका टिम लिडर खिमबहादुर रेग्मी लगायतको सहभागिता रहेको थियो।
सहभागीहरूले कार्यशालालाई उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। यस प्रकारका कार्यक्रमले विपद् व्यवस्थापनमा स्वयंसेवकहरूको प्रभावकारी परिचालन र सूचना व्यवस्थापनलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।






