वीरेन्द्रनगर नगरपालिका भित्रका चार सामुदायिक विद्यालयमा अध्ययनरत अति जेहनदार, विपन्न तथा अपाङ्गता भएका नौ जना बालबालिकाको शैक्षिक खर्च निजी क्षेत्रले बेहोर्ने भएको छ।
सेभ द चिल्ड्रेनको सहयोग तथा समाज जागरण केन्द्र (स्याक नेपाल) को आयोजनामा बैंक, वित्तीय संस्था र निजी क्षेत्रसँग गरिएको दोस्रो चरणको सहकार्य कार्यक्रममार्फत उक्त प्रतिबद्धता जनाइएको हो। निजी क्षेत्रलाई नाफामूलक गतिविधिमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने उद्देश्यले सुरु गरिएको अभियान अन्तर्गत सात जना बालबालिकाको तीन–तीन वर्ष र दुई जनाको एक–एक वर्षसम्म अध्ययन खर्च व्यहोर्ने सहमति भएको हो।
कार्यक्रमअनुसार शुभ होटेल सुर्खेत प्रा.लि.ले अमरज्योति माध्यमिक विद्यालय, नेवारेमा कक्षा १२ मा अध्ययनरत पूर्णिमा रावत र श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय, इत्रामका कक्षा ९ का विद्यार्थी मनबुजा थापाको तीन वर्षसम्म शैक्षिक खर्च बेहोर्ने जिम्मा लिएको छ। होटेल स्टे भ्याली भ्यु सुर्खेतले अमरज्योति मावि, नेवारेकी कक्षा ९ की छात्रा सुस्मा चन्दको तीन वर्षसम्म अध्ययन खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको छ।
यसैगरी, एस.एस. स्टेशनरी सुर्खेतले जनसेवा माध्यमिक विद्यालय, घुम्राकी कक्षा ९ की छात्रा शर्मिला शर्माको, के.पी. व्यवसाय प्रालि सुर्खेतले शिव माध्यमिक विद्यालय, लाटीकोइलीकी कक्षा ८ की छात्रा सृष्टि सिंहको तथा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले अमरज्योति मावि, नेवारेकी कक्षा ९ की छात्रा स्मृति सुनारको तीन–तीन वर्षसम्म अध्ययन खर्च बेहोर्ने जिम्मा लिनुभएको छ।
डि नमस्ते होटेल सुर्खेतले शिव माध्यमिक विद्यालय, लाटीकोइलीका कक्षा ८ का छात्र सचिन चौधरीको तीन वर्षसम्म शैक्षिक खर्च व्यहोर्ने भएको छ। यस्तै, लाइन्स क्लब अफ सुर्खेत काँक्रेविहारले श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका कक्षा ११ का विद्यार्थी टीका विकको एक वर्ष र मालिका डेस्कटप सुर्खेतले जनसेवा माध्यमिक विद्यालय, घुस्राकी कक्षा ९ की छात्रा गोमा खत्रीको एक वर्षसम्म अध्ययन खर्च बेहोर्ने जिम्मा लिएका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले सहयोग पाउने बालबालिकाले अध्ययनमा निरन्तरता, अनुशासन र लगनशीलता देखाउनुपर्ने उल्लेख गर्दै दाताहरूलाई आफ्नो प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो। प्रतिबद्धता अधुरो रहँदा बालबालिकाको भविष्य अन्योलमा पर्न सक्ने उहाँको भनाइ थियो।
सेभ द चिल्ड्रेन कर्णाली प्रदेशका कार्यक्रम व्यवस्थापक बाल मुकुन्द महतले सुरुवाती चरणमा वार्षिक १२ हजार रुपैयाँका दरले सहयोग सुरु गरिएको जानकारी दिँदै यसले भावी पुस्तामा सकारात्मक सोच र प्रेरणा सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
स्याक नेपालकी अध्यक्ष मिनाकुमारी तिवारी शर्माले ‘बोलगरी मोडेल’मार्फत कर्णालीका जेहनदार, अति विपन्न तथा अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा योगदान पुर्याउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताउँदै निजी क्षेत्रलाई अभिभावकीय भूमिकामा आउन आग्रह गर्नुभयो।
कार्यक्रममा सहयोगीदाता र बालबालिकाका अभिभावकबीच दुईपक्षीय लिखित सम्झौता समेत गरिएको छ।






