कर्णालीका २१३ युवालाई मौरी व्यवसाय तालिम

सुर्खेत, ३० साउन – कर्णाली प्रदेशका २ सय १३ जना युवालाई मौरी व्यवसायसम्बन्धी विशेष तालिम प्रदान गरिएको छ। नेपाल मौरीपालक महासंघ, कर्णाली प्रदेश, सुर्खेतले इन इलम परियोजना र हेल्भेटास नेपालको सहयोगमा यो तालिम आयोजना गरेको हो।

यो तालिममा जाजरकोट, दैलेख र सुर्खेतका युवाहरुलाई मौरी विमा, उद्यमशीलता विकास तथा व्यवसायिक योजना निर्माण सम्बन्धी सीप प्रदान गरिएको महासंघका संयोजक खगेन्द्र भण्डारीले जानकारी दिए। उनका अनुसार मौरी व्यवसायको संरक्षण र जोखीम न्यूनीकरणका लागि तीन जिल्लामा रहेका १ हजार मौरी गोलाको विमा गर्ने योजना समेत अघि सारिएको छ।

सहभागीहरूले मह उत्पादनको लागत, व्यवसायिक लाभ–हानि, लगानीको प्रतिफल, व्यवसायको वर्तमान अवस्था र भविष्यमा अघि बढाउने रणनीतिबारे महत्वपूर्ण जानकारी प्राप्त गरेका छन्। तालिममार्फत उनीहरूले उद्यम सञ्चालन गर्दा हुने सम्भावित जोखीम र ती कम गर्ने उपायबारे पनि सिकेका छन्।

सहभागी हिरा आचार्यका अनुसार, “व्यवसायिक योजना बिना मौरीपालन गर्दा पर्याप्त फाइदा लिन सकिँदैन। सफल व्यवसायका लागि ठोस योजना अपरिहार्य छ।”

वीरेन्द्रनगर–९ का मौरीपालक सुरेन्द्र विसीले पनि तालिमलाई महत्त्वपूर्ण बताउँदै भने, “पहिले योजना बिना व्यवसाय गर्दै आएका कारण खासै नाफा लिन सकेको थिइनँ, अब भने योजना अनुसार सञ्चालन गर्नेछु।”

तालिममा सहभागीहरूले आफ्नै व्यवसायिक योजना तयार गरेका छन्। साथै, मौरी गोला बिमा प्रक्रिया, क्षतिपूर्ति दाबीको विधि, महको मूल्य निर्धारण र लागत गणना सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गरेका छन्। आयोजकका अनुसार यस प्रकारका तालिमहरूले मौरीपालक किसानलाई व्यवसायिक रूपमा सुदृढ बनाउन र आयआर्जनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close