
सुर्खेत, वैशाख ०९ — आगलागीबाट हुन सक्ने विपद् न्यूनीकरण र समुदायस्तरमा तयारी सुदृढ गर्ने उद्देश्यले वीरेन्द्रनगर–१५ ठाटीमा कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा UNDP, UNICEF, UN Women र Handicap International को प्राविधिक सहयोगमा सञ्चालित ‘शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER-II)’ अन्तर्गत सुन्दर नेपाल संस्था र वीरेन्द्रनगर नगरपालिका को सहकार्यमा उक्त अभ्यास आयोजना गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नु, आगलागीजन्य जोखिमबारे सचेतना फैलाउनु तथा आकस्मिक अवस्थामा तत्काल प्रतिक्रिया दिन सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ।
अभ्यासमा वीरेन्द्रनगर नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक खिमलाल देवकोटा, स्थानीय आपतकालीन सञ्चालन केन्द्र प्रमुख यामलाल गिरी लगायत नगरका कर्मचारी, जनप्रतिनिधि, दमकल तथा नगर प्रहरी, परियोजना प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्वयंसेवक, महिला तथा युवा समूहको सक्रिय सहभागिता रहेको थियो।
अभ्यासका क्रममा आगलागी हुँदा अपनाउनुपर्ने प्रारम्भिक सावधानी, आगो फैलिन नदिन तत्काल चाल्नुपर्ने कदम, सुरक्षित उद्धार प्रक्रिया तथा समन्वयात्मक प्रतिकार्य प्रणालीबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो। साथै ग्यास चुहावट, बिजुली सर्ट सर्किट तथा अन्य घरायसी कारणबाट लाग्न सक्ने आगो नियन्त्रणका उपायहरूको प्रदर्शन गरिएको थियो।

यसैगरी, ठूलो आगलागी हुँदा दमकल आइपुग्दासम्म समुदायले कसरी प्राथमिक प्रतिक्रिया दिने, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित स्थानमा कसरी सार्ने भन्ने विषयमा समेत अभ्यास गरिएको थियो। केही स्थानीयलाई प्रत्यक्ष रूपमा सहभागी गराई उद्धार तथा आगो नियन्त्रण अभ्यास गराइएकाले कार्यक्रम अझ व्यवहारिक बनेको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा बोल्दै संयोजक देवकोटाले आगलागी जस्तो आकस्मिक विपद्को बेला समुदाय आफैं सचेत, संगठित र तयारी अवस्थामा रहनु अत्यन्त आवश्यक रहेको बताए। बढ्दो तापक्रम, वन क्षेत्र नजिकका बस्ती, अव्यवस्थित विद्युत् प्रयोग तथा घरायसी असावधानीका कारण आगलागीका घटनामा वृद्धि भइरहेकाले यस्ता अभ्यास समयसापेक्ष भएको उनको भनाइ थियो।
स्थानीयवासीहरूले पनि कार्यक्रमले आगलागीका बेला संयमित भएर कसरी काम गर्ने भन्ने व्यवहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्। विशेषगरी महिला, युवा र बालबालिकामा सचेतना बढेको जनाइएको छ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनमा पनि विभिन्न वडामा यस्ता सचेतनामूलक तथा अभ्यासमूलक कार्यक्रम सञ्चालन गर्दै समुदायस्तरको विपद् व्यवस्थापन क्षमतालाई थप सुदृढ बनाउने जनाएको छ।






