
वीरेन्द्रनगर–४, सुर्खेतस्थित प्रतिक्षा मोन्टेसरी एलिमेन्ट्री स्कुलमा अध्ययनरत बालबालिकाको शैक्षिक प्रदर्शनी कार्यक्रम आइतबार सम्पन्न भएको छ।
जेष्ठ अभिभावकमार्फत उद्घाटन गरिएको कार्यक्रममा बालबालिकाले विद्यालयमा सिकेका सीप, कला र ज्ञानलाई विभिन्न माध्यमबाट अभिभावकसमक्ष प्रस्तुत गरेका छन्।
कार्यक्रमबारे जानकारी दिँदै स्कुलका प्रिन्सिपल प्रतिमा मल्लले बालबालिकाको सिकाइलाई व्यवहारिक र प्रयोगात्मक बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार कक्षाकोठामा सिकाइएका विषयवस्तुलाई व्यवहारमा उतार्न यस्ता गतिविधिमूलक कार्यक्रम प्रभावकारी हुने गर्दछ।
कार्यक्रममा विद्यार्थीहरूले चित्रकला, हस्तकला, सिकाइसँग सम्बन्धित सामग्री, प्रतिभा प्रदर्शन तथा नाटक प्रस्तुत गरेका थिए। प्ले–ग्रुप, नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत बालबालिकाले विभिन्न स्टलमार्फत शैक्षिक सामग्री प्रदर्शन गरेका हुन्।
विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनी अवलोकन गर्दै अभिभावकहरूले बालबालिकाको आत्मविश्वास, अभिव्यक्ति क्षमता र सिर्जनशीलताको प्रशंसा गरेका छन्।
अभिभावकहरूले यस्ता प्रदर्शनी कार्यक्रमले बालबालिकाको बौद्धिक, सामाजिक र व्यवहारिक विकासमा सकारात्मक प्रभाव पारेको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा सहभागी अभिभावकका अनुसार यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास बढाउनुका साथै विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप मजबुत बनाएको छ।






