जन नमुना माविको ७२ औं बार्षिकोत्सव सम्पन्न

जन नमुना माध्यमिक विद्यालय वीरेन्द्रनगर ६, सुर्खेतको ७२ औं बार्षिकोत्सव एवम अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा आयोजित एक भब्य कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।
बार्षिकोत्सव तथा अभिभावक दिवसमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले निर्माण गरेको ड्रोन क्यामेरा उडाएर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी मोति प्रसाद सापकोटाले सुर्खेत जिल्लाकै इतिहास बोकेको विद्यालयलाई थप उचाई पुर्‍याउनामा नयाँ पुस्ताको नेतृत्वको प्रसंशा गर्नुभयो । उहाँले विगतमा विद्यार्थीनै भर्ना गर्न नमान्ने अभिभावकका सामु, विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा लिनै पर्ने अवस्था आउनुमा उचित व्यवस्थापनको नतिजा भएको बताउनु भयो । उहाँले यस्ता सफलताका सुचकलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगरपालिकाले शिक्षालाई प्राथमिकता राखेको भन्दै वीरेन्द्रनगरको मुटुमा रहेको विद्यालयको विकासमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विद्यालयले शैक्षिक उपलब्धि सुधार गरेसँगै यस क्षेत्रकै नमुना विद्यालय बनाउन सवैको सहकार्य आवश्यक रहने बताउनु भयो । उहाँले संविधान अनुसार संघीय शिक्षा ऐन, प्रदेश शिक्षा ऐन नबनेसम्म कतिपय समस्या रहेको बताउनु भयो ।
विद्यालयका प्रधानध्यापक यामबहादुर श्रेष्ठले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २ बर्ष भित्र शैक्षिक उपलब्धिलाई ८० प्रतिशत पुर्‍याउने बताउनु भयो । उहाँले विद्यार्थीलाई कितावको किरा मात्र नभई, संस्कार, विद्यि पद्धतिको अभ्यास गराएको बताउनु भयो । सोही अनुसार अहिले छात्र भादगाउले टोपी र छात्रा दुइ चुल्ठा बाटेर विद्यालयमा आउने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्दबहादुर कोइरालाले शैक्षिक गुणस्तर सुधारका लागि तीन तीन महिनामा अभिभावकसँग छलफल, विभिन्न दाताको सहयोगमा अक्षयकोष स्थापना लगायत धेरै काम भएको बताउनु भयो । उहाँले आगामी बर्षबाट विद्यार्थीहरुका लागि इहाजिरीको व्यवस्थापन गर्न थालिएको बताउनु भयो ।
कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुलाई विभिन्न विद्याहरुमा पुरस्कार वितरण गरिएको छ । यस्तै भूतपूर्व शिक्षक, अक्षयकोषदाताहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुद्धारा विभिन्न सास्ंकृतिक प्रस्तुतिहरु रहेका थिए ।
कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष विमल नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close