
कर्णाली प्रदेश, २०७९ माघ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउनका लागि कर्णाली प्रदेश कार्यसमितिको बैठकले तीनवटा मुख्य समिति गठन गरेको छ।
प्रदेश अध्यक्ष ललितजंग शाहीको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभापति एवं राष्ट्रियसभा सदस्य ललितजंग शाहीको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति गठन गरेको छ। उक्त समितिमा प्रदेश उपसभापतिद्वय कालिबहादुर सहकारी र सरद कार्की सदस्य रहेका छन्। त्यस्तै, महामन्त्रीहरु कृष्णबहादुर रोकाय, निरञ्जन केसी, कोषाध्यक्ष खगीसरा आचार्य, सहमहामन्त्री उपेन्द्रबहादुर थापा, एकराज डांगी, रामछाया शाही, प्रदेश प्रचार विभाग प्रमुख गोविन्द कोइराला तथा प्रदेश कार्यसमिति प्रवक्ता दमन शाही सदस्य रहेका छन्।
बैठकले महामन्त्री निरञ्जन केसीको संयोजकत्वमा निर्वाचन व्यवस्थापन सचिवालय मुल समिति पनि गठन गरेको छ। यस समितिमा कोषाध्यक्ष खगीसरा आचार्य, सहमहामन्त्रीहरु उपेन्द्रबहादुर थापा, एकराज डांगी, रामछाया शाही, प्रदेश कार्यसमिति प्रवक्ता दमन शाही तथा प्रदेश कार्यालयका मुख्य सचिव दीपक उपाध्याय सदस्य रहेका छन्।
यस्तै, निर्वाचनलाई व्यवस्थित ढंगले प्रचारप्रसार गर्नका लागि प्रदेश प्रचार विभाग प्रमुख गोविन्द कोइरालाको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार मुल समिति गठन गरिएको छ। यस समितिमा प्रदेश कार्यसमिति प्रवक्ता दमन शाही, प्रदेश कार्यालयका मुख्य सचिव दीपक उपाध्याय, सुवर्ण शाही, र मानबहादुर खड्का सदस्य रहेका छन्।
प्रदेश कार्यसमितिले आगामी निर्वाचनमा जनलहर र समन्वययुक्त प्रयासमार्फत नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउने लक्ष्य लिएको जनाएको छ।






