चीनले हुम्लामा नेपाली भूमि मिचेको कांग्रेसको ठहर, सरकारको धारणा सार्वजनिक गर्न माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदनले भूमि मिचिएको पुष्टि हुने आधार भएको कांग्रेसले जनाएको छ ।

चीनको तर्फबाट सिमाना मिचिएको खबर बाहिर आएपछि सरकारले हतारोमा टिप्पणी गरेको आरोप पनि कांग्रेसले लगाएको छ ।

पिलरनजिकै चीनले तारबार गरेको, नेपाली भूमिमा भौतिक संरचना निर्माण गरेको र एउटा पिलर भर्खरै निर्माणको गरेको तथ्यहरु सार्वजनिक भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

‘सरकारी अधिकारीहरु अध्ययनका लागि घटनास्थल नपुग्दै सीमा मिचिएको छैन भन्दै अभिव्यक्ति दिने सरकारले सरकारी टोलीको प्रतिवेदन किन सार्वजनिक नगरेको ?’ भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।

प्रवक्ता शर्माले पार्टीको तर्फबाट शाहीको नेतृत्वमा असोज १४ गते लिमीलगायतका ठाउँमा स्थलगत अध्ययनका लागि गएकोमा टोलीले सीमा मिचिएको प्रतिवेदन बुझाएको बताउनुभयो ।

कांग्रेसले सरकारलाई आफ्नो धारणा छिटो सार्वजनिक गर्न माग गर्दै उच्चस्तरीय वार्ता टोली गठन गरी भूमि फिर्ताका लागि पहल गर्नुपर्ने पनि बताएको छ ।

११ दिनसम्म नेपाल-चीन सीमा निरीक्षण गरेको शाही नेतृत्व टोलीले नाम्खा गाउँपालिकामा पर्ने लोलुङजोङमा चीनद्वारा निर्मित भौतिक संरचनाहरु नेपाली भू-भागमा पर्ने निष्कर्ष पनि निकालेको छ ।

चीनले ५ (२) नम्बरको पुरानो सीमास्तम्भलाई उखेलेर एकतर्फीरुपमा नयाँ बनाएको, नेपालले गप्पुदोचादेखि निर्माण गरेको दुई किलोमिटर सडकखन्ड पनि चीनले अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close