सातै प्रदेशमा प्रदेश सरकार गठनकाे तयारी सुरु

 प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइनसक्दै सातै प्रदेशमा प्रदेश सरकार गठन र नेतृत्वको लागि अनौपचारिक गृहकार्य सुरु भएको छ ।

समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि एक दलले प्रदेशमा बहुमतको सरकार बन्ने अवस्था छैन् । तर, अधिकांश प्रदेशसभा वर्तमान सत्तारुढ गठबन्धनको सरकार बन्ने सम्भावना देखिएको छ । सात प्रदेशमध्ये सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्वको लागि सत्तागठबन्धनकै दलहरूबीच कसरत सुरु भएको छ ।

५३ सदस्यीय सुदुरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । प्रत्यक्षतर्फ कांग्रेस ११, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५, एमाले ३, नेकपा एस २ र स्वतन्त्रले १ क्षेत्रमा निर्वाचन जितेका छन् ।

समानुपातिकतर्फ कांग्रेस ६, माओवादी केन्द्र ३, नेकपा एमाले ७ र एकीकृत समाजवादीले १ सिट पाउने निश्चित भएको छ । यसकारण सुदुरपश्चिम प्रदेशमा वर्तमान सत्तागठबन्धनको स्पष्ट बहुमत देखिएको छ ।

अन्तिम नतिजा नआउँदै प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रबीच रस्साकस्सी सुरु भएको छ । हुन त चुनावअघि नै कांग्रेस सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रका प्रदेशसभा सदस्य खगराज भट्टराई मुख्यमन्त्रीको आश्वासन दिएको चर्चा सार्वजनिक भएको थियो । तर, अघिल्लो कार्यकाल माओवादीले नेतृत्व गरेकाले अब कांग्रेसले अवसर पाउनुपर्ने कांग्रेसका नेताहरूको जिकिर छ । तर, दुवै दलका नेताहरू भने गठबन्धनको भावनाअनुसार केन्द्रको निर्देशन र सहमतिका आधारमा टुंगो लाग्ने बताउँछन् ।

गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे टुंगो नलाग्दै कांग्रेसका आधा दर्जन प्रदेश सांसदहरू लागिपरेका छन् । मुख्यमन्त्रीको लागि कांग्रेस सुदुपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का र बहादुरसिंह थापा अग्रपंंक्तिमा देखिनुभएको छ । आकांक्षी धेरै भएपछि कांग्रेसभित्र किचलो हुने संकेत देखिएको छ । तर, प्रदेश महामन्त्री खड्का पार्टीभित्र कुनै विवाद नहुने जिकिर गर्नुहुन्छ।

२०७४ सालको आमनिर्वाचनमा वामगठबन्धनको तर्फबाट निर्वाचित माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुभएको थियो । तत्कालिन नेकपा विघटन भएसँगै वाम गठबन्धनबाट मुख्यमन्त्री भएका अन्य प्रदेशमा सरकार परिर्वतन भए पनि सुदुरपश्चिम प्रदेश सरकारले भने पूर्ण कार्यकाल बिताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close