
स्वदेशमै युवाहरूलाई स्वरोजगारमार्फत आर्थिक रूपान्तरण गर्ने उद्देश्यका साथ ‘स्विट सपिङ्ग’ सुर्खेतको वीरेन्द्रनगर–६ शनिहल लाइनमा सञ्चालनमा आएको छ । स्थानीय महिला उद्यमी भूमिका रावतको पहलमा झण्डै १२ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सो सपिङ्गमा स्वदेशमै निर्माण गरिएका विभिन्न उत्पादनहरू उपलब्ध छन् । सपिङ्गमा विशेषगरी मैन क्याण्डिल, हातमा लगाउने बाला, बुके जस्ता सामग्रीहरू आफ्नै हातले निर्माण गरी बिक्री गरिन्छ । यस्ता सामग्रीहरू हाेलसेल तथा फुटकर रूपमा विक्री वितरण गरिनेछ ।
यस सपिङ्गको विशेष आकर्षणका रूपमा स्पेशन लेडिज ब्राण्डका विभिन्न कपडा तथा सुटहरू पनि खुद्रा र सस्तो मूल्यमा उपलब्ध गराइनेछ । विशेष गरी युवती तथा महिलाहरूलाई लक्षित गरी उत्पादन र बिक्रीको संयोजन गरिएको सञ्चालिका रावतले जानकारी दिइन् ।
‘स्वदेशमै सीप प्रयोग गर्दै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरणको रूपमा हामीले यो सुरुवात गरेका हौं,’ सञ्चालिका रावतले भनिन्, ‘हामीले उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण चक्र आफैं सम्हाल्ने प्रयास गरेका छौं ।
सपिङ्गको उद्घाटन कार्यक्रम सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले गरेका थिए । कार्यक्रममा सङ्घका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । अध्यक्ष खड्काले घरेलु उत्पादनमा आधारित उद्यमको प्रवर्द्धनबाट स्थानीय अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्दै यस्ता प्रयासहरूलाई संस्थागत रूपमा साथ दिन सङ्घ तत्पर रहेको उल्लेख गरे ।
स्विट सपिङ्गले स्थानिय सीप, श्रम र नवप्रवर्तनको माध्यमबाट स्वरोजगारलाई प्रेरणा दिने अपेक्षा गरिएको छ । युवा पुस्तालाई उद्यमशीलताप्रति आकर्षित गर्ने र महिलाहरूलाई आर्थिकरूपमा सबल बनाउन यसले सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।





