नुवाकोटमा बाढीले गोठ बगाउँदा महिला बेपत्ता, सँगै सुतेका पति गम्भीर घाइते

नुवाकोटमा गएराति सुतेकै ठाउँ बाढीले बगाउँदा महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार गएराति नुवाकोटको ककनी गाउँपालिका-१, भसिबुस्थित बिमचना खोलामा आएको बाढीले गोठ बगाउँदा त्यसमा श्रीमान्‌सँगै सुतिरहेकी ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्।

उनका पति अशोक बलामी भने बाढीमा परी गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बेपत्ता महिलाको खोजी भइरहेको उनले बताए। ठूलो वर्षाका कारण गएराति बिमचना खोलामा आएको बाढीले बलामी दम्पती सुतेको समेत तीन गोठ बगाएको हो।

 

 

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बन्चरेबाट गरी ६५ जना सुरक्षाकर्मी उद्धारमा खटिएका थिए।

खोलाले पशुचौपायासहित विभिन्न सामान पनि बगाएको स्थानीयले बताएका छन्।

यसैबीच डोल्पा जिल्लाको काइके गाउँपालिका-४ रिवामा गएराति पहिरो जाँदा १५ वटा घर भत्केका छन्।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको छ।

पहिरोमा परी ३ जना व्यक्ति घाइते भएका छन्। उनीहरूको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close