कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला

नेपाली कांग्रेसमा संस्थापन पक्षले आफू सुहाउँदो निर्णय गरेको विरोधमा रणनीति बनाउन असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला बस्दैछ ।

पार्टी मुख्यालय वीपीनगर सानेपामा सोमबार बिहान ११ बजे जिल्ला सभापतिहरुको भेला बस्न लागेको नुवाकोट जिल्ला सभापति जगदीश नरसिंह केसीले बताएका छन् ।

उनले कम्तीमा ४६ जिल्लाका सभापतिहरुको सहभागीतामा भेला संचालन हुने बताउँदै भने, ‘४६ जिल्लाका सभापतिहरुसंग सम्पर्क भइसकेको छ । अन्यसंग सम्पर्क भइरहेको छ । ५२ जिल्लाका सभापतिहरु आउने अपेक्षा गरेका छौं ।’

दुई दिनसम्म चल्ने भेलामा संस्थापन इतरका सबै जिल्ला सभापतिहरु सहभागी हुने दावी गरिएको छ । शेरबहादुर देउवा पक्षका जिल्ला सभापतिहरु भने भेला नहुने बताइएको छ ।

पहिलो दिन जिल्ला सभापतिहरुले आफ्नो भनाइ राख्ने छन् भने दोस्रो दिन पार्टी नेतृत्वलाई दिने सुझावबारे छलफल हुने पनि केसीले बताए ।

के हो असन्तुष्टि ? 
वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, डा रामशरण महत लगायतको असन्तुष्टिबीच पनि केन्द्रीय समिति बैठक डाकेर सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनुका साथै विभाग गठन गरेपछि इतर पक्षको आक्रोश बढ्दो छ ।

केसी भन्छन्, ‘बहुमतका आधारमा पार्टीका विधानहरु निलम्बन गर्ने काम भएको, २८ वटा विभाग बढाएर ४८ वटा बनाउने काम भएको र १३ औं महाधिवेशनको कार्यसमितिलाई १४ औं महाधिवेशनले संवोधन गर्नुपर्ने परिस्थिति छ ।’

महासमितिको बैठकले गरेका निर्णयलाई बहुमतको आधारमा केन्द्रीय समितिले उल्टाएपछि यसअघि पनि जिल्ला सभापतिहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

केन्द्रीय समिति आफैले गरेका निर्णयलाई दुई महिना टिकाउन नसकेर त्यही धारा निलम्बन गर्ने काम भएको भन्दै असन्तुष्टि चुलिएको छ ।

अधिवेशनलाई प्रभावित पार्ने काम भएको भन्दै चर्को असन्तुष्टि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close